सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो
काठमाडौं । सरकारले शनिवार र आईतवारको दुई दिने सार्वजनिक बिदाको निर्णयले पोखराको पर्यटन व्यवसायमा उत्साह थपेको छ ।
राज्यले बिदालाई ‘होलिडे प्याकेज’ का रूपमा विकास गरी ओझेलमा परेका र पर्यटकीय सम्भावना बोकेका स्थानको पहिचान र प्रवद्र्धनमा ध्यान दिन सके अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने व्यवसायीहरुको भनाई छ । दुई दिने बिदाले नेपालीहरूमा भ्रमण गर्ने संस्कृतिको विकास र देशको आन्तरिक पर्यटकीय सम्भावनालाई उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिवार र आईतवारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । यस निर्णयले आन्तरिक पर्यटनलाई मात्र गति दिएको छैन, बरु सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको सञ्चार गरेको पर्यटन व्यवसायीको भनाइ छ । यसलाई प्याकेजको रूपमा अगाडि बढाएर ओझेलमा परेका गन्तव्यहरूको प्रवद्र्धन गर्नुपर्ने उनीहरुको भनाइ छ । पोखराका पर्यटन व्यवसायीहरूका अनुसार यो निर्णयले कर्मचारी वर्गलाई मात्र नभई समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्नेछ ।
अब राज्यले यस्ता बिदालाई ‘होलिडे प्याकेज’ का रूपमा विकास गरी ओझेलमा परेका गन्तव्यहरूको पहिचान र प्रवद्र्धनमा ध्यान दिनु आवश्यक रहेको व्यवसायीहरु बताउँछन् । दुई दिने बिदाले नेपालीहरूमा भ्रमण गर्ने संस्कृतिको विकास गर्न र देशको आन्तरिक पर्यटकीय सम्भावनालाई उजागर गर्न कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले कोभिड–१९ को महाव्याधिपछि बिस्तारै तङ्ग्रिँदै गरेको पर्यटन व्यवसायका लागि नयाँ आन्दोलन र सकारात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन् । विशेषगरी जेन–जी पुस्तामा बढ्दो भ्रमण संस्कृतिको सन्दर्भमा यो निर्णय अझ प्रभावकारी हुने देखिएको बताएका छन् ।
अध्यक्ष आचार्यले राज्यका विभिन्न निकायहरूमा कार्यरत कर्मचारीहरूलाई पनि ‘भ्रमण प्याकेज’ को अवधारणा ल्याएर प्रोत्साहित गर्नुपर्ने बताए । कर्मचारीहरूलाई योजनावद्ध रूपमा भ्रमणमा पठाउँदा अहिलेसम्म ओझेलमा परेका र कम परिचित पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रवद्र्धनमा मद्दत पुग्ने उनको धारणा छ । पर्यटकीय गन्तव्यहरूको उचित प्रवद्र्धन र सरकारका यस्ता नीतिहरूको निरन्तरताले नेपालको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको भूमिका अझ सशक्त हुनेमा उनले जोड दिए । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की सचिव एवं होटल लेक क्वीनकी सञ्चालक शान्ता सुवेदी तिमिल्सिनाले यस कदमबाट पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको बताएकी छिन् ।
स्वयं होटल व्यवसायी समेत रहेकी सुवेदीले यो बिदाको व्यवस्थाले पर्यटन क्षेत्रमा दीर्घकालीन रूपमा थप टेवा पु¥याउने विश्वास व्यक्त गरिन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की महासचिव शोभा अधिकारी पौडेलले दुई दिने विदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताइन् ।
फेवाताल, बेगनासताल र सराङकोट जस्ता मुख्य पर्यटकीय स्थलहरुमा पर्यटकको उपस्थिति बाक्लो देखिएको छ । यसले गर्दा स्थानीय स्तरमा रोजगारी र व्यापारमा समेत टेवा पुगेको पर्यटन व्यवसायीहरुको ठहर छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यो कदम कोशेढुङ्गा सावित हुने उनीहरूको विश्वास छ । होटल संघ पोखराका कोषाध्यक्ष नेत्र पौडेल यस निर्णयले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको बताएका छन्
पोखराको पर्यटन बजारलाई केन्द्रित गर्दै उनले यो बिदाले विशेष गरी आन्तरिक पर्यटकको चहलपहल बढ्ने र यसले समग्र होटल व्यवसायलाई नै नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरे । पर्यटन व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको यो माग सम्बोधन हुँदा कोभिडपछिको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न मद्दत पुग्ने देखिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE