आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने

काठमाडौं । चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने भएको छ ।

चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधवार औपचारिक रूपमा सम्पन्न भएसँगै चक्रपथ विस्तारको काम अघि बढ्न बाटो खुलेको हो । भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदुत झांग माओमिंगबीच बुधबार यससम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८ दशमलव २ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिव ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । यसअघि सन् २०१९ देखि शुरु गरिएको पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ ।चक्रपथको दोस्रो खण्डमा ११.६ किलोमिटर विस्तार गर्ने लक्ष्य रहेको छ । हाल बसुन्धारासम्म मात्र विस्तार गर्न लागिएको छ ।

चक्रपथको दोस्रो खण्डको विस्तारमा चिनियाँ पक्षले आनाकानी र अलमल गर्दै आइरहेको थियो । कलंकी–महाराजगञ्ज क्षेत्रको सडक विस्तारका लागि नेपाल र चीन सरकारबीच २०७४ फागुनमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार विस्तारको काम दुई वर्षभित्र सम्पन्न हुनुपर्ने थियो तर ८ वर्षसम्म पनि काम नै सुरु हुन सकेको थिएन । यसअघि चीन सरकारकै सहयोगमा चक्रपथ पहिलो खण्ड कोटेश्वर–कलंकी सडक ८ लेनमा विस्तार भइसकेको छ । जसको दुरी १०.३९ किलोमिटर छ । यो सडक खण्ड २०७५ माघमा चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिवद्धता व्यक्त गरे । उनले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा व्यक्त गरे । चिनियाँ राजदुत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । नेपालको विकासमा चिनियाँ सहयोग सधैँ रहने उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x