सुरक्षित गर्न खोला किनारबाट हटाउँछौ,अतिक्रमणकारी र सुकुम्बासी स्थायी समाधान गर्छौ: प्रधानमन्त्री बालेन
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नदीकिनाराका सुकुम्वासी बस्तीहरू हटाउने कदम सरकारले स्थायी समाधान खोज्नका लागि लिएको बताएका छन् ।उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नागरिकहरूलाई हटाउने उद्देश्यले सुकुमवासी बस्ती खाली नगरिएको प्रष्टीकरण दिएका हुन् ।
प्रधानमन्त्री शाहले फेसबुकमा सरकारले चालेका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले नभइ आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन् भनेर लेखेका छन् । त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध समेत गरेका छन् ।काठमाडौं उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएका क्षेत्रहरूमा सरकारले कानुनबमोजिम व्यवस्थापन प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।
यस विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको उनले जनाएका छन् । उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको उनले लेखेका छन् ।उनले दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत खारेज गरिएको जनाएका छन् ।
उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको समेत उनले जानकारी दिएका छन् । असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिने उनको प्रतिबद्धता छ । अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्ने उनको भनाइ छ ।
सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराउदै उनले कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने आश्वासन दिएका छन् ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE