आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

काठमाडौंलाई सडक मानवमुक्त बनाउन तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ सञ्चालन, पहिलो दिन ३६ जनाको उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकालाई ‘सडक मानवमुक्त’ बनाउने अभियानअन्तर्गत पशुपति क्षेत्रको तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ (होल्डिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ । काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा वैशाख २२ गतेदेखि वडा नं. ८ स्थित तिलगंगामा उक्त सेन्टर सञ्चालन गरिएको हो । अभियानको पहिलो दिन पशुपति क्षेत्रका विभिन्न स्थानबाट ३६ जना सडक सहयोगापेक्षीहरूको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २८ जनालाई सेन्टरमा राखिएको छ भने केही व्यक्तिहरू सेन्टरको पर्खाल नाघेर भागेका थिए । उद्धार गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई सोही दिन साँझसम्ममा परिवारसँग पुनर्मिलन गराइएको महानगरले जनाएको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मंगलवार सेन्टरको स्थलगत निरीक्षण गर्दै पूर्वाधार, स्वास्थ्य सुविधा र व्यवस्थापनबारे जानकारी लिएकी छन् । सो क्रममा उनले उद्धार गरिएका व्यक्तिहरूसँग कुराकानी गर्दै उनीहरूको पारिवारिक अवस्था र सडकमा आउनुपर्ने कारणबारे चासो राखेकी हुन् । उनले सडकमा आश्रितहरूको व्यवस्थापन गर्दा पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइने र असहाय एवं बेवारिसेलाई मात्र आश्रममा राखिने प्रष्ट पारिन् ।

महानगरले हाल बिहान, दिउँसो र राति गरी तीनवटा सिफ्टमा उद्धार टोली परिचालन गरिरहेको छ । विशेषगरी पशुपति लगायतका धार्मिक र पुरातात्विक क्षेत्रमा सडक आश्रितहरूको संख्या धेरै भएकाले ती क्षेत्रमा केन्द्रित भएर काम भइरहेको छ । स्क्रिनिङ सेन्टरको स्थापनासँगै अब उद्धार गरिएका व्यक्तिहरूको वास्तविक अवस्था पहिचान गर्न सहज हुने र अभियानले थप गति लिने महानगरको विश्वास छ । महानगरले सञ्चालनमा ल्याएको स्क्रिनिङ सेन्टरले सडकबाट उद्धार गरिएका व्यक्तिहरूको अवस्था वर्गीकरण गर्नेछ । पारिवारिक अवस्था भएका, असहाय, अशक्त र उपचारको आवश्यकता भएका व्यक्तिहरूलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न यस केन्द्रले सहज बनाउने महानगरको विश्वास छ । महानगरपालिकाले सडकमा कोही पनि नागरिक भोकै बस्न नपरोस् र कसैले पनि सडकमा कष्टपूर्ण जीवन व्यतित गर्नु नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेको हो । यसबाट सडकमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने र नागरिकले सरकारको अभिभावकत्व महशुस गर्ने डंगोलको भनाइ छ । महानगरपालिकाले यस अभियानलाई सफल बनाउन आम नागरिकसँग सहयोगको अपेक्षा गरेको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले सेन्टरको पूर्वाधारलाई थप व्यवस्थित र सुरक्षित बनाउन कोषले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यवाहक प्रमुख डंगोलले सडकमा अलपत्र परेका, बिरामी वा असहाय व्यक्तिहरू देखेमा मानव सेवा आश्रमको सार्वजनिक गरिएको टेलिफोन नम्बरमा सम्पर्क गरी सहयोग गर्न नागरिकहरूलाई आग्रह गरेकी छन् । यो अभियानलाई सफल बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले समाजका सबै पक्षसँग हातेमालो गर्न आह्वान गरेकी हुन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x