इप्पानको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी
काठमाडौं। इप्पानको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ । बिहिबार आगामी नेतृत्वका लागि उपाध्यक्ष भ्लोनको नेतृत्वमा टिम घोषणा गरिएको छ । उक्त टीमले मुलुकलाई उर्जामा आत्मनिर्भर बनाइ ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् ।।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालको नयाँ नेतृत्व चयनको लागि चुनावी सरगर्मी बढेको छ । आगामी जेठ २९ गतेका लागि निर्धारण भएको इप्पानको साधारण सभाबाट नयाँ नेतृत्व चयनका लागि उपाध्यक्ष उत्तम लामा भ्लोनको नेतृत्वमा टिम घोषणा भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा भ्लोनले तीन वर्षे कार्यकालको भिजन र टिम घोषणा गरेका छन् । इप्पानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । भ्लोनले इप्पानको वरिष्ठ उपाध्यक्षको लागि आफ्नो उम्मेदवारी घोषणा गरे ।
उनको नेतृत्वमा उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, हिम पाठक, सुसन कर्माचार्य र बिक्रम विष्टलाई अघि सारिएको छ । त्यसैगरी, महासचिवमा टिएन आचार्य र उपमहासचिवमा कविता कडेललाई अघि सारिएको छ । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त समेटिएको छ । भ्लोन नेतृत्वको टिमले आगामी ३ वर्षमा गर्ने कामको एजेण्डासहितको इप्पान भिजन २०२९ घोषणा गरेको छ । उक्त भिजनमा मुलुकलाई उर्जामा आत्मनिर्भर बनाइ ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ ।
कार्यक्रममा इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले ऊर्जा क्षेत्र नेपाललाई समृद्धिको मार्गमा लैजान सक्ने एकमात्र बलियो आधार भएको बताए । नेपाललाई समृद्धिको मार्गमा लैजान सक्ने एकमात्रै भरपर्दो क्षेत्र उर्जा भएको उनको भनाइ छ । उनकाअनुसार नेपालले जलस्रोत, घाम र हावाबाट ठूलो मात्रामा हरित ऊर्जा उत्पादन गर्न सक्ने सम्भावना रहेको छ । डाँगीले नेपाल सरकारले विद्युत व्यापार गर्न नसक्ने, प्रसारण लाइन बनाउन नसक्ने भन्ने आशंका आवश्यक नभएको उल्लेख गर्दै ऊर्जा क्षेत्रप्रति विश्वास गर्नुपर्ने बताए । उनकाअनुसार इप्पानले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको छ ।
कार्यक्रममा सांसद ई. श्रीराम न्यौपानेले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय संकल्पलाई सफल बनाउन ऊर्जा दशक घोषणा गरेर अघि बढ्नुपर्ने बताए । अहिले शक्तिशाली सरकार बनेको र राजनीतिक इच्छाशक्ति पनि बलियो रहेको बताउँदै उनले ५ वर्षभित्र ऊर्जामा आत्मनिर्भर नेपाल बनाउन र १० वर्षभित्र ऊर्जा निर्यातकर्ता राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्न सम्भव रहेको उनको भनाइ छ । एक दशकलाई ‘ऊर्जा विकास दशक’ घोषणा गरी १० वर्षका लागि ‘सनसेट ल’ लागू गर्ने प्रयास वर्तमान सरकारले गरिरहेको उनको भनाइ छ ।
पर्याप्त विद्युत उत्पादन भए उद्योग सञ्चालनमा आउने, रोजगारी सिर्जना हुने र आर्थिक विकासले गति लिनेछ । सांसद न्यौपानेले ऊर्जा क्षेत्रलाई प्रशासनिक झन्झट र राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रलाई खुला प्रतिष्पर्धाको वातावरण दिनुपर्ने बताए । एकद्वार प्रणाली लागू गर्न, प्रशारण लाइन निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्न तथा ऊर्जा क्षेत्रको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने उनको भनाइ छ ।न्यौपानेले अब नेपाल विद्युत् प्राधिकरण को एकाधिकार अन्त्य गरी प्रतिस्पर्धात्मक ऊर्जा बजारतर्फ जानुपर्ने बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE