रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति कमजोर भयो, ग्रिन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गरौँः सांसदहरू
काठमाडौं।प्रतिनिधि सभाका सांसदहरुले रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति कमजोर भएको बताएका छन् । रासायनिक मलको प्रयोगका कारण उत्पादन घट्दै गएको तथा जनस्वास्थ्यमा समेत गम्भीर असर परिरहेको भन्दै उनिहरुले ग्रिन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गर्न सुझाव दिएका छन् ।प्रतिनिधि सभाका सांसदहरूले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति कमजोर हुँदै गएको भन्दै ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् ।
रासायनिक मलको प्रयोगका कारण उत्पादन घट्दै गएको तथा जनस्वास्थ्यमा समेत गम्भीर असर परिरहेको भन्दै रासयनिक मलको विकल्पमा जोड दिनुपर्ने उनीहरुको भनाइ छ । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले विद्युत प्रयोगमार्फत ग्रीन हाइड्रोजन प्रविधिबाट मल उत्पादनतर्फ सरकार अघि बढ्नुपर्ने बताए ।
किसानहरू मल माग्न सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य गर्न कृषि मन्त्रालयले प्रभावकारी रुपमा काम गर्नुपर्ने उनको भनाइ छ ।
नेपाली काँग्रेसकी सांसद गीताकुमारी सेन्दाङले किसानलाई आवश्यक रासायनिक मल यथाशक्य उपलब्ध गराउन सरकारसँग माग गरिन् । कृषकको लगानीका आधारमा सरकारले मल आपूर्ति सुनिश्चित गर्नुपर्नेमा उनको जोड छ । उनले बाँझो जमिन उपयोगमा ल्याउन सुकुम्बासी नागरिकलाई लिजमा जमीन उपलब्ध गराउने नीति ल्याउन समेत सरकारलाई सुझाव दिइन् । विदेशमा रहेका युवालाई समेत कृषि र बाँझो जमिनसँग जोड्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले हरेक वर्ष दोहोरिने मल अभाव अन्त्य गर्न सरकारले स्पष्ट रोडम्यापका साथ काम गर्नुपर्ने बताइ ।उनले मल आपूर्तिलाई सहज बनाउन स्वदेशमै मल कारखाना स्थापना गर्ने नीतिसहित सरकारले काम गर्नुपर्नेमा जोड दिए ।
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि क्षेत्रमा ‘पोलिसी डिपार्चर’ गर्न खोजिरहेको बताइन् । हालसम्म बनेका कृषि ऐन तथा नीतिहरू नागरिक केन्द्रित बन्न नसकेको भन्दै उनले सरकारले त्यसमा काम गरिरहेको दाबी गरिन् । उनले कृषि क्षेत्रसँग सम्बन्धित नीतिमा आवश्यक सुझाव मन्त्रालयमा पठाउन समितिका सदस्यहरूलाई आग्रह गर्दै सरकारले ती विषयलाई प्राथमिकताका साथ समेट्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
मन्त्री चौधरीले रासायनिक मलमा भइरहेको ठूलो लगानीको विकल्प खोज्नुपर्ने समेत बताइन् । अन्तरमन्त्रालय समन्वय अभाव र सीमित स्रोतका कारण कतिपय कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न गाह्रो भइरहेको बताउदै उनले समितिलाई सरकार र नागरिकबीच पुलको भुमिका निर्वाह गरिदिन समेत आग्रह गरिन् ।।
बैठकमा बोल्ने अधिकांश सांसदहरूले बाँझो जमिनलाई खेतीयोग्य जमिनमा रूपान्तरण गरी सुकुम्बासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE