आज ३३ औँ मदन–आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रमको आयोजना हुँदै
काठमाडौं। नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस मनाएको छ ।
मदननगर बल्खुमा भएको कार्यक्रममा पूर्व राष्ट्रपति विद्या देवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् । यस्तै, एमालेका वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी तथा नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
स्मृति सभाका अवसरमा नेता द्वय मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ । यसैबीच । स्मृति सभालाई सम्बोधन गर्दै मदनपत्नी समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताएकी छन् ।
स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई वैचारिक पुनर्जागरण र नयाँ सङ्कल्पको अवसरका रूपमा लिन एमाले नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् ।यसैबीच स्मृति दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको दासढुङ्गामा भएको रहस्यमय दुर्घटनामा आफूहरूले जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितलाई गुमाएको स्मरण गरेका छन् । सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले समय बित्दै गए पनि उनीहरूको अभाव झन् बढी खड्किरहेको उल्लेख गरेका छन् ।
मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा भएको स्मरण गर्दै ओलीले मदन भण्डारीकै नेतृत्वमा नेपाली राजनीतिले ‘जनताको बहुदलीय जनवाद’ (जबज) जस्तो बलियो र मौलिक विचार पाएको बताएका छन् । जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभइ यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको उनको भनाइ छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE