अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ ।
समितिको चौथो बैठकले आठ जना विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आगामी बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो । समिति सभापति कृष्णहरि बुढाथोकीले बैठकमा समितिअन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रश्तुत गरेको जानकारी दिए । उनकाअनुसार उपसमितिहरूले विभिन्न विषयमा देखिएका ग्याप तथा फाइन्डिङहरू समितिसमक्ष राखेका थिए ।
साथै, केही सांसदहरूले वर्तमान बजेट तथा बजेट तर्जुमा प्रक्रियासम्बन्धी विषय उठाएका थिए । समितिले उपसमितिहरूलाई पनि आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषय समेटेर बजेट तर्जुमाका सन्दर्भमा थप ५ देखि १० वटा सुझाव तयार गरी आगामी बैठकमा पेश गर्न निर्देशन दिएको बुढाथोकीले जानकारी दिए ।
अर्थ समितिले विज्ञहरूको सुझाव, उपसमितिहरूको प्रतिवेदन तथा सांसदहरूले उठाएका विषयलाई आधार बनाएर आगामी बजेटबारे सरकारलाई थप सुझाव र निर्देशन दिने तयारी गरेको सभापति बुढाथोकीको भनाइ छ ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE