सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

प्रतिपक्षको आलोचनापछि अर्थमन्त्रीको काउन्टर : अर्को चुनाव कुर्नु

काठमाडौँ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विपक्षी दलहरूले आफ्नै भाषा, शैली र दस्ताबेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएका छन् मंगलबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि उठाएका विभिन्न जिज्ञासा एवं आलोचनाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले निर्वाचनमा जनताले स्पष्ट रूपमा अनुमोदन गरिदिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको वाचा पत्रलाई नै मुख्य आधार बनाएर सरकारले आफ्नो नीति, कार्यक्रम तथा विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता ल्याएको उल्लेख गरे । उनले यस सरकारी दस्ताबेजलाई विपक्षी दलहरूले आफ्नो अनुकूल बनाउन खोज्नु राजनीतिक रूपमा अमिल्दो हुने भन्दै त्यसका लागि अर्को निर्वाचन कुर्नुको विकल्प नरहेको प्रस्ट पारे । सरकार सधैँ जनताबाट अनुमोदित भाषा, शैली, दर्शन र सार अनुसार नै दृढताका साथ अघि बढिरहेको जिकिर पनि उनले गरे ।

प्रतिपक्षका प्रश्नहरूको संसद्‌मा सामना गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार, यहाँ जे प्रस्तुत गरिएको हो, त्यो नै हो । किनकि हामीले निर्वाचन लड्नु भन्दा अगाडि रूपान्तरणका सय आधारहरू भनेर बाचा पत्रमा उल्लेख गरेका थियौँ । त्यसैलाई नै जनताले अनुमोदित गरेको भन्ने कुरा मान्ने हो भने यसैमा टेकेर आएका एक सय वटा शासकीय सुधारका मार्ग चित्र हाम्रो नीति तथा कार्यक्रम अहिलेको यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता हो । अब आफ्नै भाषा, आफ्नै दस्ताबेज अनुमोदित गराउनका लागि अर्को चुनाव कुर्नुपर्ला ।’

अर्थमन्त्री वाग्लेले सरकारले मुलुकको विकास र शासकीय सुधारका हरेक मार्गचित्रहरू पनि जनताको भावना र म्यान्डेट अनुसार नै अघि बढाएको दाबी गरे । संसद्‌मा बजेटका सिद्धान्त र प्राथमिकतामाथि रचनात्मक सुझाव आउनु सकारात्मक भए पनि दलीय स्वार्थका आधारमा गरिने विरोधको कुनै अर्थ नरहने उनको भनाइ थियो । चालू आर्थिक वर्षका बाँकी कामहरूलाई पूर्णता दिँदै आगामी बजेटले देशको अर्थतन्त्रलाई सही दिशामा डोर्‍याउने र सुशासन कायम गर्ने कुरामा उनले जोड दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x