नेपाल प्रहरीको ३ वर्षे रणनीतिक योजना सार्वजनिक
काठमाडौं । नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउनका लागि ३ वर्षे रणनीतिक योजना २०८३–२०८५ सार्वजनिक गरेको छ ।
योजनामा संगठनको प्रविधिमैत्री रूपान्तरण, कृत्रिम बौद्धिकताको प्रयोग, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण र समुदाय साझेदारीलाई मुख्य प्राथमिकता दिइएको छ । मंगलवार प्रहरी प्रधान कार्यालय एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रणनीतिक योजनामा नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण गर्ने लक्ष्य राखिएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धानलाई सूचनामा आधारित बनाइ प्रहरी सेवाको डिजिटलीकरणलाई तिब्रता दिने योजना समेत छ ।
प्रहरी सेवामा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यशैली विकास गर्न ७ रणनीतिक क्षेत्र तय गरिएका छन् । रणनीतिक योजनाले प्रहरी संगठनभित्र नीतिगत तथा कानुनी सुधार, समुदाय–प्रहरी सहकार्य संस्थागत गर्ने, अपराध रोकथाम तथा नियन्त्रण प्रणालीलाई पूर्वानुमानमा आधारित बनाउने, प्रहरी प्रशासन र सेवा प्रवाहको कार्यदक्षता सुधार गर्ने तथा वैज्ञानिक मूल्यांकन प्रणाली विकास गर्ने लक्ष्य अघि सारेको छ । रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रणनीतिक योजना प्रहरी संगठनको समग्र कार्यदिशा भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा लाग्न सबै तहका कर्मचारीलाई निर्देशन समेत दिए । ।
आईजीपी कार्कीले नागरिक तहबाट व्यक्त अपेक्षाअनुसार प्रहरी सेवाको सुधार गर्दै संगठनको पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने प्रतिवद्धता समेत जनाए ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE