आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

मनसुनजन्य सडक दुर्घटना न्युनिकरणका लागि मौसम पूर्वानुमानको पालना गर्न एआईजी कार्कीको आग्रह

काठमाडौं। प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीले मनसुनको समयमा हुने सडक दुर्घटना र जनधनको क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमानको पूर्ण पालना गर्न सरोकारवालाहरूलाई आग्रह गरेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित मनसुन लक्षित सचेतना कार्यक्रम तथा सहायता कक्ष स्टल को उद्घाटन गर्दै उहाँले यस्तो बताएका हुन। एआईजी कार्कीले पछिल्लो समय मौसम पूर्वानुमानको प्रविधि अत्यन्तै विश्वसनीय भएको उल्लेख गर्दै त्यसलाई बेवास्ता गर्दा ठूला दुर्घटना निम्तने गरेको तर्फ ध्यानाकर्षण गराए। सवारी चलाउने मानसिकता त्याग्न र खराब मौसममा यात्रा स्थगित गर्न उहाँले चालक तथा यात्री दुवैलाई अपिल गरे।

एआईजी कार्कीले यातायात क्षेत्रको सुधारका लागि भएका प्रयासहरूको चर्चा गर्दै जथाभाबी पार्किङ गर्ने प्रवृत्तिको अन्त्य हुनु सकारात्मक भएको बताए । उनले बसपार्कभित्र आवश्यक न्युनतम पूर्वाधारको व्यवस्थापन भइसकेको जानकारी दिँदै ट्राफिक नियमको पालनामा निरन्तरता दिन आग्रह गरे । यातायात क्षेत्रमा हुने विवाद समाधान र सुरक्षाका लागि प्रविधिको प्रयोगमा जोड दिँदै कार्कीले हालसम्म ४ सय भन्दा बढी सवारी साधनमा जीपीएस र ड्यासबोर्ड क्यामेरा जडान भइसकेको जानकारी दिएका छन्। यसबाट सवारी दुर्घटनाको सही पहिचान हुने र न्याय प्राप्तिमा सहज हुने उनको विश्वास छ । साथै, अनलाइन टिकिटिङ र यात्रीको सामानको सुरक्षाका लागि सुरु गरिएको ‘लगेज ट्याग’ प्रणालीलाई पूर्ण रूपमा लागू गर्न उहाँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ध्यानाकर्षण गराए ।

उनले भने , ‘अहिले प्रविधिको विकासले मौसमको जानकारी ठ्याक्कै मिल्न थालेको छ, तर हामी त्यसलाई पालना गर्दैनौँ । पूर्वानुमानलाई स्वीकार गरी सोही अनुसार यात्राको योजना बनाउने हो भने सम्भावित जोखिमबाट जोगिन सकिन्छ । प्रहरीले रोक्दारोक्दै पनि जोखिम मोलेर अघि बढ्ने र समस्यामा परेपछि उद्धार भएन भन्ने दोहोरो मापदण्डले थप जटिलता ल्याएको छ, आफ्नो सुरक्षामा आफैँ बढी सजग हुनुपर्छ ।’

विगतका वर्षहरूमा जस्तो बाढी र पहिरोका कारण सवारी साधन र यात्री बेपत्ता हुने दुःखद् घटना यो वर्ष दोहोरिन नदिन सबै पक्षबीच सहकार्य हुनुपर्नेमा एआईजी कार्कीले जोड दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x