नवयुवा आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
काठमाडौं। नेपाली कांग्रेसले गत भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।कांग्रेस प्रवक्ता देवराज चालिसेले बिहिबार विज्ञप्ति निकालेर मानव अधिकार आयोगप्रति कांग्रेसको धारणा सार्वजनिक गर्दै सरकारको धारणासमेत माग गरेका हुन् ।
यसअघि सुशीला कार्की सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण रहेको निष्कर्ष निकालेको कांग्रेसले मानव अधिकार आयोगको प्रतिवेदनलाई अपर्याप्त भनेको छ । कांग्रेसले नवयुवा आन्दोलनबारे सरकारले नै अनुसन्धान शुरू गर्नुपर्ने पनि बताएको छ । कांग्रेसले आन्दोलनको प्रारम्भिक चरण संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई सकारात्मक रूपमा लिएको छ । तर त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि भएको, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट र हत्या भएका घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्ने माग गरेको छ । त्यसैगरी राज्य संयन्त्रबाट भएको अत्यधिक बल प्रयोग र मानव अधिकार उल्लङ्घनका घटनामा संलग्न व्यक्तिहरूमाथि पनि संवैधानिक तथा कानूनी दायराभित्र रही कारबाही हुनुपर्ने कांग्रेसको धारणा छ ।
राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक निकाय भएको र सर्वोच्च अदालतले समेत आयोगका सिफारिशहरू सरकारका लागि बाध्यकारी हुने नजिर स्थापित गरिसकेको उल्लेख गर्दै आयोगका सिफारिश कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको हो ।कांग्रेसले हिंसात्मक घटनामा संलग्नमाथि निष्पक्ष कारबाही अघि बढाउन, मृतक तथा घाइतेका परिवारलाई न्याय र राहत दिन, निजी क्षेत्रको क्षतिपूर्ति सुनिश्चित गर्न तथा सुरक्षा निकायलाई मानव अधिकारमैत्री बनाउन आवश्यक सुधार गर्न सरकारसमक्ष माग गरेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE