दक्षिण अफ्रिकामा विदेशी नागरिक लक्षित हिंसाको त्रासः घानाद्वारा ३ सय नागरिकको उद्धार
काठमाडौं । दक्षिण अफ्रिकामा बढ्दो विदेशी नागरिक लक्षित हिंसाका बीच घाना सरकारले आफ्ना ३०० नागरिकलाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराएको छ ।
दक्षिण अफ्रिकास्थित घानाको कुटनीतिक नियोगमा स्वदेश फर्कनका लागि निवेदन दिएका ८ सय भन्दा बढी नागरिकमध्ये ३ सय जनाको पहिलो टोली बुधबार आक्रा अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । विमानस्थलमा नागरिकहरूलाई स्वागत गर्दै घानाका विदेशमन्त्री स्यामुएल ओकुजेटो अब्लाक्वाले फर्काइएका व्यक्तिहरूमध्ये २६ जना भिसा सम्बन्धी कसुरमा दक्षिण अफ्रिकी जेलमा रहेका नागरिकहरू समेत रहेको जानकारी दिए । मन्त्री अब्लाक्वाले विश्वको जुनसुकै कुनामा रहेका आफ्ना नागरिकको सुरक्षा, मर्यादा र संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
उद्धार गरिएका नागरिकहरूका लागि सरकारले विशेष सहयोगको प्याकेज समेत घोषणा गरेको छ । विदेशमन्त्रीका अनुसार उनीहरूलाई मनोवैज्ञानिक र स्वास्थ्य समस्या समाधानका लागि चिकित्सक, नर्स तथा मनोवैज्ञानिकहरूबाट मनोसामाजिक परामर्श प्रदान गरिनेछ । यसका साथै, उनीहरूलाई घरसम्म पुग्न यातायात खर्च र समाजमा पुनःस्थापित हुनका लागि सरकारले आर्थिक सहयोग समेत उपलब्ध गराउने बताइएको छ । राष्ट्रपति कार्यालयका प्रमुख सचिव जुलियस डेबराहले दक्षिण अफ्रिकामा भोगेका तीता अनुभव र मानसिक तनावलाई बिर्सेर नयाँ उत्साहका साथ अगाडि बढ्न आग्रह गरे ।
उनले राज्यको तर्फबाट प्राप्त न्यानो स्वागतले उनीहरूलाई पुनःस्थापनामा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।विगत १६ वर्षदेखि दक्षिण अफ्रिकामा बसोबास गर्दै आएका भिक्टर अत्सु तोग्बेले विदेशीहरूमाथि भइरहेको श्रृंखलावद्ध आक्रमणका कारण त्यहाँ सामान्य जीवनयापन र जीविकोपार्जन गर्न असम्भव भएको दुखेसो पोखे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE