आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

सभामुख अर्यालको आग्रह- ‘सरकारलाई घण्टी बजाएर खबरदारी गर्नुस्’

काठमाडौं , सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भुमिका आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार गलत दिशामा गएमा वा काम गर्नमा ढिलाइ भएको अवस्थामा घण्टी बजाएर सचेत गराउन आग्रह गरे । उनले कानून निर्माण प्रक्रियामा सुझाव दिन र सरकारका कमजोरीप्रति समयमै सचेत गराउन आग्रह गरे । सभामुख अर्यालले देशमा सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रलाई प्रोत्साहन गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए । विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने अवस्था निर्माण गर्नुपर्ने तथा नेपाललाई बस्न र लगानी गर्न उपयुक्त राष्ट्रका रूपमा विकास गर्नुपर्ने उनको भनाई छ । नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूलाई विश्वसामु प्रभावकारी रूपमा प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै उनले लुम्बिनी, सगरमाथा, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, जानकी मन्दिर तथा पाथीभरा मन्दिरजस्ता गन्तव्यहरूले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख केन्द्र बनाउन सक्ने बताए ।

उनले भने, ‘कानून निर्माण व्यवस्थापिकालाई सघाउने, सुझाव दिने, कहाँ कस्तो कानून चाहिन्छ, कस्तो कानून बनाएमा देशको जनता खुशी हुनसक्छन्, सुखी हुन सक्छन्, यो देश समृद्ध हुनसक्छ, त्यो बाटो तपाईंहरुले देखाउनुपर्छ । तपाईहरुले जसरी लायन्स क्लवमा बिहानै उठेर घण्टी बजाउने गर्नुहुन्छ, अब सरकारलाई पनि घण्टी बजाईदिनुहोला की यहाँनेर गलत हुँदैछ, यो छिटो गर्नुस्, यसरी काम गर्नुस्, यसरी गर्नुपर्छ, जनताको माग यो हो, आजको जनताको आवश्यकता यो हो । त्यसैगरि कानून निर्माणमा पनि प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरुलाई पनि तपाईहरुले घच्घच्याउनुस् । हामी हाम्रै पालामा यो देश समृद्ध बनाउनुपर्छ । हामी हाम्रै पालामा यो देशको भ्रष्टाचार अन्त्य गर्नुपर्छ, हामी हाम्रै पालामा यो देशमा सुशासन कायम गर्नुपर्छ । हाम्रा सन्तानहरुलाई यो देशमा राजनीति गरेर, नेतृत्वमा पुगेर देशलाई अझ हामीले खनेको बाटोलाई अझ राम्रो बनाउने जिम्मेवारी सुम्पिनुपर्नेछ । यो देशलाई विकास गरेरै छाड्नुपनर्नेछ, भ्रष्टाचार अन्त्य गरेरै छाड्नुपर्नेछ, सुशासन कायम गरेरै छाड्नुपर्नेछ । निजी क्षेत्रलाई उकास्न पर्नेछ, प्रोत्साहन गर्नुपर्नेछ । हामी हामी सबैका सन्तानलाई यो देशमा फिर्ता बोलाउनुपर्नेछ, यो देश बस्न लायक देश बनाउनैपर्नेछ, यो देश बस्न लायक देश नै हो । यो देश सुन्दर छ, संसारले यो देशलाई खोजी गर्ने गरेका छन् । यो देशमा संसारका नागरिकलाई आउने वातावरण बनाउनुपर्छ । गौतमबुद्धको लुम्बीनीदेखि सगरमाथा, पशुपतिदेखि मुक्तिनाथ अनि जानकीमन्दिरदेखि सुदूरपश्चिमका रमणीय ठाउँहरु, सुदूरपूर्वका पाथीभरा लगायत हामीसँग भएका अथाहा सम्भावनाहरुलाई संसारभर चिनाउनुपर्नेछ ।’

उनले देशको संविधानलाई समयानुकूल बनाउन आवश्यक सुधार र संशोधनका विषयमा पनि ठोस सुझाव दिन आग्रह गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x