सूचना नै नदिई फलफूल बजारमा डोजर चलाइयोः व्यवसायी
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका ७ स्थित जिरो माइल फलफूल बजार खाली गराउने क्रममा व्यवसायीहरूले असन्तुष्टी जनाएका छन् ।
उच्च अदालत जनकपुरले जिरो माइलमा रहेको फलफुल बजार खाली गराउने आदेश दिएपछि उपमहानगरपालिकाले फलफूल बजार खाली गराएको हो । जनकपुरको आदेशलाई सम्मान आफूहरु बजार खाली गर्न तयार रहेपनि समय नदिएको व्यवसायीहरुको गुनासो छ । व्यवसायीहरुले हाल आँपको मुख्य व्यापारिक सिजन रहेकोले बजार खाली गराउन तीन महिनाको समय माग गरेपनि सुनुवाई नभएको बताएका छन् । जनकपुरधाम फलफूल व्यवसायी महासंघका महासचिव भूवनेश्वर पूर्वेले व्यवसायीहरू बजार स्थानान्तरणका लागि तयार रहेपनि वैकल्पिक व्यवस्थापन नहुँदै बल प्रयोगको शैलीमा संरचना हटाउने काम गरिएको बताए । अदालतको आदेश कार्यान्वयनमा आफूहरूको कुनै असहमति नरहेको उल्लेख गर्दै उनले सूचना नै नदिई बजारको संरचनामा डोजर चलाएर व्यवसायीमाथि अन्याय गरेको बताए ।
उनले भने ,‘फलफूल बजार हटाउनको लागि नगरपालिकाले आजसम्म हामीलाई जानकारी गराएको छैन । उच्च अदालत जनकपुरको परमादेश आउनेवित्तिकै आफ्नो मन बुताविक डोजर ल्याएर फलफुल बजार भत्काइएको छ ।’
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले वैकल्पिक व्यवस्थाविना नै व्यवसायीहरुलाई हटाईएको बताए । राज्यलाई करोडौं रुपैयाँ राजश्व बुझाउँदै आएका व्यवसायीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्नु उचित नहुने उनको भनाई छ । उनले व्यवसायीहरूका लागि नयाँ स्थान व्यवस्थापन गर्न उपमहानगरपालिकासँग समन्वय भइरहेको जानकारी दिए ।
व्यवसायीहरुकाअनुसार गुठीमा रहेको कृषि बजारलाई सरकारले हटाएपनि निजी जग्गा भाडामा लिएर फलफूल बजार बनाइएको थियो । उक्त जग्गाधनीको बीचमा देखिएको विवाद उच्च अदालतमा पुगेपछि अदालतले फलफूल बजार हटाउन आदेश दिएको हो । अदालतको आदेशपछि उपमहानगरपालिकाको सहयोगमा जग्गाधनीले फलफूल बजारका संरचनामा डोजर लगाइएको व्यवसायीहरुको भनाई छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE