तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
काठमाडाैं । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक शतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले मनसुनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तापलहरबाट जोगिन आवश्यक सतकर्ता अपनाउन आग्रह गरे । उनले सरकारले लूको जोखिम रहेका तराईका जिल्लाहरुमा जोखिम न्युनिकरण गर्न सरकारले सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक तयारी बताए । उनले तातो लहर (लू)बाट बच्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव दिए । डा. अधिकारीले तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्नसक्ने भएकाले उच्च तापक्रमका बेला घरबाहिर निस्कँदा आवश्यक सावधानी अपनाउन आग्रह गरे । उनले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताए । उनले तातो लहरको जोखिमबाट बच्न धूम्रपान तथा मद्यपानबाट टाढा रहन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन पनि आग्रह गरे ।
उनले भने, ‘मनसुन शुरु भएसँगै हामी तातो हावाको जोखिममा पर्नसक्ने पूर्वानुमान समेत आइरहेका छन् । तापलहर (लू)को जोखिमबाट बँच्नको लागि हामी सबै आआफ्नो ठाउँबाट पूर्वतयारी गर्नुपर्ने छ । यसको लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरोकारवाला निकायहरुसँग समन्वय गरेर काम गरिरहेको छ । हामीले ‘हिट वेभ’को सम्बन्धमा हामी अलि बढी तापक्रम हुने ठाउँमा बस्ने नागरिकले अलि बढी ध्यान दिनुपर्छ । हामीले आफ्नो दैनिकीमा गर्ने कामहरुमा पनि त्यहीअनुसारको तादम्यता मिलाउनुपर्ने हुन्छ । हामीले दिउँसो काम गर्दै आएका छौँ भने तापक्रम बढेको समयमा बिहान वा साँझको समयमा काम गर्ने, दिउँसोको समयमा घरमै बस्ने, झोलिलो खानेकुरा खाने, त्यसैअनुसारको आराम गर्नुपर्ने हुन्छ । हिट वेभको कारण हाम्रो आँखा तथा छालाको समेत दीर्घकालीन समस्याहरु हुनसक्छन् । त्यही भएर हामीले तापक्रम बढी भएको क्षेत्रमा घरबाट बाहिर निस्कँदा सन्तुलन मिलाउनुपर्ने हुन्छ । बालबालिका तथा ज्येष्ठ नागरिक अलि बढी जोखिममा पर्ने भएको कारण उहाँहरुले अलि बढी साबधानी अपनाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा हामीले स्वास्थ्यलाई असर पर्ने खालका धुम्रपान तथा मद्यपानको सेवन नगर्ने लगायतका कामहरु गर्नुपर्ने हुन्छ । यी सबे कुरामा हामीले ध्यान दिनुपर्ने हुन्छ । यदि केही अफ्ठ्यारो भएको खण्डमा तत्कालै स्वास्थ्यकर्मीसँग परामर्श गर्न समेत सबैमा आग्रह गर्दछौँ ।’
‘लू’ भनेको के हो ?
तापलहर (लू) भनेको लामो समयसम्म अत्यधिक गर्मी रहने अवस्था हो, जुन प्रायः उच्च आद्र्रता सँगै देखिन्छ । कुनै निश्चित क्षेत्रको सामान्य औसत तापक्रमभन्दा निकै माथि तापक्रम पुगेको अवस्थामा लू घोषणा गर्ने गरिन्छ । जलवायु परिवर्तनको कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेका कारण तापलहरको जोखिम बढ्दै गइरहेको छ । तापलहर (लू)का केवल शरीरमा पानीको कमी (डिहाइड्रेसन) र हिटस्ट्रोको जोखिम हुने गर्दछ । हिट वेभले मुटुसम्बन्धी समस्याको जोखिम पनि बढाउन सक्ने विज्ञहरुको चेतावनी छ ।
लू लाग्नुका कारणहरू के के हुन् ?
जलवायु परिवर्तनको कारण विश्वव्यापी तापक्रम बढ्दै जाँदा लूको लाग्ने गरेको पाइएको छ । पछिल्लो समय अव्यवस्थित शहरीकरणका कारण पनि लूको जोखिम बढ्दै गएको छ । कंक्रीटका भवन र सडकहरूले ताप सोस्ने भएकाले शहरहरूमा लूको जोखिम अत्याधिक हुने गर्दछ । वन फँडानीका कारण प्राकृतिक चिसोपन घटेर समेत तातोलहर चल्छ ।
तापलहर (लू)का लक्षणहरू
डिहाइड्रेसनः अत्यधिक तिर्खा लाग्नु, मुख सुक्नु, थकान महसुस हुनु
गर्मीजन्य थकानः रिंगटा लाग्नु, पसिना आउनु, कमजोरी महशुस हुनु
हिटस्ट्रोकः शरीरको तापक्रम अत्यधिक बढ्नु, अन्योल हुनु, बेहोस हुनु
मुटुमा दबाबः मुटुको धड्कन बढ्नु, छातीमा असहजता हुनु
तापलहर (लू)लाग्नबाट बच्न के गर्ने ?
दिउँसोको अत्यधिक गर्मी हुने समयमा बाहिर ननिस्कनुहोस् ।
हल्का र खुकुलो कपडा लगाउनुहोस् ।
चिसो वा छायाँयुक्त स्थानमा बस्नुहोस् ।
सम्भव भए पंखा वा एयर कन्डिसनर प्रयोग गर्नुहोस् ।
हल्का तथा पौष्टिक खाना खानुहोस् ।
चिकित्सकको सल्लाहअनुसार औषधि नियमित सेवन गर्नुहोस् ।
शरीरमा पानीको मात्रा पर्याप्त राख्नुहोस् ।
रक्तचाप र रक्तशर्कराको नियमित निगरानी गर्नुहोस् ।
अत्यधिक शारीरिक श्रम नगर्नुहोस् ।
गर्मी बढेको समयमा घरभित्र वा चिसो स्थानमा बस्नुहोस् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE