साहित्य र कलाले राष्ट्रको आन्तरिक जीवन निर्माण गर्छन्ः सञ्चारमन्त्री तिमिल्सिना
काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने बताएका छन्।
बिहीवार काठमाडौंमा आायेजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ लाई सम्बोधन गर्नुहुँदै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन् । उनले भौतिक पूर्वाधार र प्रविधिले राष्ट्रको वाह्य स्वरूप मात्रै निर्माण गर्ने उल्लेख गरे। मन्त्री तिमिल्सिनाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डेटा र तिब्र गतिको वर्तमान युगमा पनि मानवीय संवेदनाको खोजीका लागि साहित्य अपरिहार्य रहेको उल्लेख गरे। यस वर्षको महोत्सवको नारा ‘नयाँ विश्व व्यवस्थामा हर्षोल्लास, उपचार र सिर्जनात्मक लेखन’ प्रति ऐक्यवद्धता जनाउँदै मन्त्री तिमिल्सिनाले विश्वमा बढ्दो द्वन्द्व, विस्थापन र वातावरणीय चुनौतीका बीच साहित्यले उपचारको काम गर्ने बताए।
नेपालको भौगोलिक र सांस्कृतिक विविधताको चर्चा गर्दै उहाँले हिमालय क्षेत्र केवल हिमालको पहाड मात्र नभई दार्शनिक, साधक र कलाकारहरूको प्रेरणाको स्रोत रहेको उल्लेख गरे । नेपालमा बोलिने १ सय २० भन्दा बढी भाषा र ती भाषामा रहेका लोककथा, मिथक र गीतहरूले नै नेपाली पहिचानलाई समृद्ध बनाएको उनको भनाइ छ ।
उनले भने, ‘हामी प्रविधिको युगमा छौँ, जहाँ सञ्चारले विश्वलाई क्षणभरमै जोड्छ । तर प्रविधिको यो गतिमा साहित्यले हामीलाई सुस्ताउन, अरूका कुरा सुन्न र मानवीय संवेदनालाई गहिराइबाट बुझ्न सिकाउँछ । साहित्य केवल प्राज्ञिक विधा मात्र नभई मानवतालाई बुझ्ने र कठिन सत्यहरूको सामना गर्ने बलियो माध्यम हो । सरकारी तथ्याङ्क, प्रतिवेदन र औपचारिक भाषणले व्यक्त गर्न नसक्ने सत्य कविताले सहजै व्यक्त गर्न सक्छ ।’
मन्त्री तिमिल्सिनाले आफ्नो व्यक्तिगत साहित्यिक यात्राको स्मरण गर्दै साहित्य र सङ्गीतको शक्ति राजनीति वा भूगोलभन्दा माथि हुने बताए । भानुभक्त आचार्य र महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानको चर्चा गर्दै उनले नयाँ पुस्ताका लेखक तथा अनुवादकहरूले नेपाली साहित्यलाई विश्वस्तरमा पु¥याउन खेलिरहेको भुमिकाको प्रशंसा गरे। यस्ता महोत्सवले विभिन्न देशका लेखक र चिन्तकहरूलाई एउटै मञ्चमा ल्याएर मानवीय संवाद र आपसी समझदारी बढाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE