बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल

काठमाडाैं । पूर्वमन्त्री ओमप्रकाश अर्यालले लोकतान्त्रिक व्यवस्थामा पदसोपान भन्दा कार्यक्षमता र सिर्जनशीलताको वातावरण महत्वपूर्ण हुने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले  लोकतन्त्र र गणतन्त्रले सबैका लागि सम्भावनाका ढोकाहरू खोलेको उल्लेख गरे । उनले केही समय अघिसम्म निजामती सेवाको छैटौँ तहमा रहेका कर्मचारीहरू अहिले सांसद मात्र नभई मन्त्रीसमेत बनेको उदाहरण दिँदै यो व्यवस्थामा सबैलाई समान अवसर रहेको स्पष्ट पारे। उनले कसैलाई पनि बिनाआधार मानमर्दन गर्न नहुने र सबैलाई ‘बेनिफिट अफ डाउट’ (सन्देहको लाभ) दिनुपर्ने धारणा राखे । गृह प्रशासनको कार्यशैलीका विषयमा चर्चा गर्दै उहाँले प्रशासनले प्रमाणका आधारमा मात्र आलोचना गर्ने वा कारबाही अगाडि बढाउने गरेको दाबी गरे । प्रतिकुल प्रमाण नभेटिएसम्म कसैलाई पनि दोषी करार गर्न नहुने उनकाे तर्क छ ।

उहाँले भन्नुभयो, ‘हामीले यो लोकतन्त्रमा कसैलाई पनि धेरै हाइरार्कीमा बस्नुपर्ने अवस्था छैन । मैले त त्यही अभ्यास गरेँ । हामीले हाम्रोमा हाइरार्कीभन्दा पनि कार्यक्षमता र सिर्जनशीलताको वातावरण बनायौँ, र त्यसले गर्दा परिणाम आएको हो। अहिले पनि यहाँहरूले देख्नुभएको छ, म आफैँ यसको प्रत्यक्ष द्रष्टा छु कि कतिपय साथीहरू डेढ–दुई महिना अगाडिसम्म छैटौँ तहका कर्मचारी हुनुहुन्थ्यो, अहिले सांसद मात्र होइन, मन्त्री पनि हुनुभएको छ । त्यसैले यहाँहरू सबैलाई त्यो अवसर छ अब । त्यसकारण अब यो मुलुक, यो गणतन्त्र र यो लोकतन्त्रमा सबैका लागि सम्भावनाका ढोका खुलेका छन्। कसैले कसैको मानमर्दन गर्नु हुँदैन । सबैलाई ‘बेनिफिट अफ डाउट’ दिनुपर्छ । कहीँ गल्ती, कमी–कमजोरी गरेको छ भने प्रमाणका आधारमा कारबाही हुनुप¥यो । तर यत्तिकै दोषारोपण गरेर, अरूको मानमर्दन गर्दै अगाडि बढ्दा मुलुक बन्दैन । गृह प्रशासनले पनि त्यस्तो गरेन । प्रमाण देख्यो भने आलोचना ग¥यो होला, प्रमाण देखेन वा प्रतिकूल प्रमाण देखेन भने ‘बेनिफिट अफ डाउट’ दिएर काम गरेको हो । अहिले मानमर्दन गर्ने र दोषारोपण गर्ने क्रम अझै पनि जारी छ। यी कुराहरू रोकिनुपर्छ। हाम्रो लोकतन्त्र सुदृढ हुँदै जाँदा यी कुरा पनि रोकिनेछन् । अहिलेको सरकारले पनि यस विषयमा विशेष रूपमा ध्यान दिनेछ भन्ने मलाई लाग्छ ।’

समाजमा अझै पनि मानमर्दन र दोषारोपण गर्ने क्रम जारी रहेकोमा चिन्ता व्यक्त गर्दै पूर्वमन्त्री अर्यालले लोकतन्त्र सुदृढ हुँदै जाँदा यस्ता प्रवृत्तिहरू स्वतः रोकिने विश्वास व्यक्त गरे । उनले वर्तमान सरकारले पनि यस विषयमा विशेष ध्यान दिने र आगामी दिनमा राजनीतिक तथा प्रशासनिक वातावरण थप सुधार हुने विश्वास व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x