शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे

काठमाडाैं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले कतिपय क्षेत्रगतमा पर्याप्त ध्यान दिन नसकेको बताएका छन्  ।

राजधानीमा आयोजित एक कार्यक्रममा पाण्डेले सरकारले राष्ट्रिय गौरवका आयोजनाको संख्या धेरै बनाए पनि ती आयोजनामा पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताए  । उहाँकाअनुसार हाल रहेका २४–२५ वटा राष्ट्रिय गौरवका आयोजनामा थोरै–थोरै बजेट छर्दा कुनै पनि आयोजना समयमै सम्पन्न हुन सकेको छैन । उनले सरकारसँग बहुमतको शक्ति रहेकाले आयोजनाहरूलाई स्पष्ट रूपमा प्राथमिकतामा राखी सिमित संख्यामा केन्द्रित हुनुपर्ने बताए  । अधिकांश मन्त्रालयको बजेट विगतकै निरन्तरतामा रहेको उल्लेख गर्दै उनले उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्ने बताए  ।
पाण्डेकाअनुसार कम प्राथमिकताका आयोजनाबाट बजेट सारेर मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नसके त्यसबाट अर्थतन्त्रले ठूलो लाभ लिनसक्छ । उदाहरणका रूपमा उनले द्रुतमार्ग परियोजना पूरा भए वीरगञ्ज–काठमाडौं यात्रामा लाग्ने समय उल्लेखनीय रूपमा घट्ने र त्यसले ढुवानी, व्यापार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए  ।

पाण्डेले  व्यवसायीहरूले भोगिरहेको प्रमुख समस्यामध्ये उधारो रकम असुल गर्न नसक्नु पनि एक भएको बताए  । उनकाअनुसार व्यवसायीहरूले उधारो दिएपछि असुलीका लागि प्रहरी प्रशासनको सहयोग खोज्दा त्यसलाई निजी विषय भन्दै पन्छिने प्रवृत्ति रहेको छ । विकसित मुलुकहरूमा भने उधारो असुलीका लागि प्रभावकारी कानूनी तथा संस्थागत संयन्त्र रहेको उल्लेख गर्दै उनले नेपालमा पनि त्यस्तो व्यवस्था आवश्यक रहेको बताए  ।

पूर्वअर्थमन्त्री पाण्डेले भने–‘नेपालमा व्यवसायीहरू मर्कामा पर्ने प्रमुख कारणमध्ये एक उधारो रकम असुल हुन नसक्नु पनि हो । व्यवसायीहरूले उधारो दिन्छन्, तर असुल–उपर गर्न प्रहरीकहाँ जाँदा यो तपाईंहरूको निजी कुरा हो, हामी गर्दैनौँ भन्ने जवाफ पाइन्छ बकि अमेरिका लगायत अन्य धेरै देशहरूमा उधारो असुलीका लागि कानुनी तथा सरकारी संयन्त्रहरू प्रभावकारी रूपमा परिचालित हुन्छन् । नेपालको सन्दर्भमा पनि यस्तो व्यवस्था आवश्यक थियो । यो विषय आगामी बजेटमा केही हदसम्म समेटिएको देखिन्छ, तर मैले उठाएको अर्को महत्वपूर्ण कुरा भने यसमा समावेश भएको देखिँदैन । जस्तो, अहिले हामीसँग २४–२५ वटा राष्ट्रिय गौरवका आयोजना छन् । सबै आयोजनालाई गौरवको आयोजना घोषणा गरिएको , तर पर्याप्त बजेट उपलब्ध गराउन सकिएको छैन । परिणामस्वरूप सबै आयोजनामा थोरै–थोरै रकम छरिने, तर कुनै पनि आयोजना समयमै सम्पन्न नहुने अवस्था सिर्जना भएको छ । यसरी सबै योजनामा बजेट बाँड्दा कार्यसम्पादन प्रभावकारी हुन सक्दैन । मेरो विचारमा यस्ता आयोजनाहरूलाई सीमित गरी स्पष्ट प्राथमिकतामा राख्नुपथ्र्यो । अहिले सरकारसँग बहुमत भएकाले आवश्यक निर्णय गर्ने पर्याप्त शक्ति पनि छ। बजेट हेर्दा माननीयहरूले माग गरेका धेरै कार्यक्रमहरू समेटिएका जस्तो देखिँदैनन् । मन्त्रालयगत विनियोजन आएपछि त्यसबारे अझ स्पष्ट हुनेछ तर समग्र रूपमा हेर्दा अधिकांश मन्त्रालयको बजेट लगभग यथावत् रहेको देखिन्छ ।सरकारले आयोजना सीमित गर्ने र प्राथमिकताका आधारमा बजेट केन्द्रित गर्ने काम गर्न सकेको देखिँदैन । बजेटमा समावेश गरिएका योजनामध्ये पनि अर्थमन्त्रीले प्राथमिकता निर्धारण गरेर केही महत्वपूर्ण आयोजनामा बढी स्रोत केन्द्रित गर्न सक्नुहुन्थ्यो । अन्य कम प्राथमिकताका आयोजनाबाट बजेट सारेर मुख्य आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने प्रयास गर्नुपथ्र्यो। यसो गर्दा समयमै सम्पन्न भएका ठूला परियोजनाहरूबाट प्राप्त हुने प्रतिफल धेरै बढी हुन्थ्यो । उदाहरणका लागि, द्रुतमार्ग समयमै सम्पन्न भयो भने वीरगन्जदेखि काठमाडौं आउन अहिले १८–२० घण्टा लाग्ने यात्रा करिब २ घण्टामै पूरा गर्न सकिन्छ । यसले ढुवानी लागत घटाउँछ, व्यापारिक गतिविधि बढाउँछ र निजी तथा सरकारी दुवै क्षेत्रको उत्पादकत्व र क्षमता वृद्धि गर्छ । त्यसैले यस्ता उच्च प्रतिफल दिने परियोजनाहरूमा केन्द्रित भएर बजेट विनियोजन गर्नुपर्छ  ।’

कृषिलाई अझै पनि मुलुकको प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताउँदै पाण्डेले यस वर्ष कृषि क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए  । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा देखिएको अनिश्चितताका कारण रासायनिक मलको अभाव र मूल्यवृद्धिको जोखिम बढेको उनको भनाइ छ ।

विशेषगरी स्ट्रेट अफ हर्मुज क्षेत्रसँग सम्बन्धित भूराजनीतिक अस्थिरताले नेपालमा आउने मल आपूर्तिमा असर पार्न सक्ने उल्लेख गर्दै उनले सरकारले समयमै रासायनिक मलको पर्याप्त व्यवस्था गर्नुपर्नेमा जोड दिए । साथै कृषकहरूलाई राहत, सहुलियत र उत्पादन संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई सुझाव दिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x