बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले सरकार रोजगारी सिर्जना, उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा  गम्भीर हुनुपर्ने बताएका छन् ।

शनिवार नेपाल सुनचाँदी कला व्यवसायी संघको २४ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनमा बोल्दै उनले राज्यले लगानीमैत्री वातावरण बनाउन ध्यान दिनुपर्ने बताएका हुन् । राज्यको प्रमुख दायित्व रोजगारीका अवसर सिर्जना गर्नु र निजी क्षेत्रलाई फस्टाउन अनुकूल वातावरण बनाउनु रहेको बताए । उद्योग तथा व्यवसायमा प्रतिकुल असर पर्नेगरि राज्यले कुनै नीतिहरू लिन नहुने उनको भनाई छ । उनले उद्योगव्यवसायको प्रोत्साहन हुन नसक्दा देशभित्र रोजगारी नपाएर युवाहरू वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य भएको बताए । नेपालले आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी बनाउन सरकार स्पष्ट रणनीतिका साथ अघि बढ्न नसकेको उनको आरोप छ । स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमार्फत आर्थिक सुदृढीकरण सम्भव भएपनि सरकारको त्यसतर्फ पर्याप्त ध्यान पुग्न नसकेको बताउनु भयो ।

उनले भने, ‘राज्यले रोजगारी सिर्जना गर्ने हो । रोजगारीका जुन–जुन सम्भावनाहरू छन्, त्यसलाई प्रोत्साहित गर्ने हो । व्यवसायहरूलाई फस्टाउनका लागि जसरी गर्न सकिन्छ, त्यसको निम्ति राज्य लचिलो हुनुपर्ने पनि हो । यस अर्थमा राज्यले कुनै पनि व्यवसायमा प्रतिकूल असर नपरोस्, त्यसको विकासमा बाधा उत्पन्न नहोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । तपाईं हामी सबैलाई थाहा छ, रोजगारी नपाएर मानिसहरू संसारमा भौँतारिने गरेका छन् । देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर चाहर्ने स्थिति बनिरहेको छ । रोजगारी प्रवद्र्धन गर्ने क्षेत्रहरु के–के छन्, ती सबै क्षेत्रहरूको राज्यले राम्रो लेखा गर्नुपर्दछ । तिनीहरूलाई राज्यले प्रोत्साहित गर्न पर्छ । नेपालले जति धेरै आयात रोक्न सके, आफ्नै देशमा उत्पादन गर्नसके, उत्पादन धेरै गरिसकेपछि यहाँ उपभोग गर्ने मात्र होइन, विदेशमा निर्यात गर्नसके, यो आयात केन्द्रित हाम्रो अर्थतन्त्र निर्यात मुखी हुने स्थिति बन्न सक्थ्यो । सरकारको यी सबै कुराहरूमा कत्तिको ध्यान जान सकेको छ ? सरकारको ध्यान गएको छैन भने व्यवसायीहरूले पनि कत्तिको ध्यान आकर्षित गर्न सक्नुभएको छ । यो महत्वपूर्ण कुरा हुन्छ ।’

सह–संयोजक नेपालले नेपालमा विशेषगरी औषधि उद्योग संकटमा परेको बताए । करिव १५० बढी औषधि उद्योग बन्द हुने अवस्था रहेको उनको भनाई छ । यस विषयमा संसद, राजनीतिक दल र सरोकारवाला निकायहरूले सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा उनले जोड दिए । सरकारले निजी क्षेत्रका गुनासा सुन्ने, नियमित संवाद गर्ने र नीतिगत सुधारमार्फत उद्योग व्यवसायलाई संरक्षण गर्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ । कृषि, जलविद्युत् र खनिज स्रोतको विकास आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उनले उत्पादन, रोजगारी र आम्दानी वृद्धि भएमा उपभोग तथा व्यापार स्वतः विस्तार हुने बताए । उनले नेपालले सिमेन्ट उद्योगलगायत विभिन्न उत्पादनमूलक क्षेत्र संकटमा परेको उल्लेख गर्दै प्राकृतिक स्रोत–साधनले सम्पन्न नेपालले खनिज, कृषि र ऊर्जा क्षेत्रमा आधारित औद्योगिक विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, ‘नेपालमा औषधि उत्पादन धेरै हुन सकेको भए राम्रो हुन्थ्यो, नेपालका १५० वटा जति औषधि उद्योगहरू धराशायी हुने स्थितिमा पुगेका छन् । सरकारको ध्यान किन जाँदैन ? सरकारले पनि सुन्नुपर्छ, सरकारले अन्तरक्रिया गर्नुपर्छ, जति धेरै सुन्यो, धेरै सूचनाहरू प्राप्त हुन्छ, जति धेरै सुन्यो, गुनासाहरू थाहा हुन्छ । मान्छेका पीडा र वेदनाहरू थाहा हुन्छ । यस्तो कुरामा कुनै संकीर्णता अपनाउनुपर्ने आवश्यकता छैन । संवाद हुन सक्दछ, तर्क वितर्क हुन सक्दछ । औचित्यपूर्ण छ कि छैन भन्ने बारेमा छलफल हुन सक्दछ । त्यसले देशको भलो गर्दछ भने वैकल्पिक अरु अनेक तरिकाहरू अवलम्बन गरेर देशको अर्थतन्त्रलाई, राजश्वलाई वृद्धि गर्ने काम गर्न सकिन्छ भने राजस्वमा पनि वृद्धि होस् । तर सिङ्गो उद्योग व्यवसाय पनि फस्टाओस् । यी सबैले रोजगारीलाई बढाउँछ, नेपाल जस्तो देशमा स्वाभाविक रुपमा किसानको संख्या बढी छ । कृषि क्षेत्रले पाउनुपर्ने प्रोत्साहन आफ्नो ठाउँमा छ । कृषि उद्योगहरू जति फस्टाउन सके मान्छेको आम्दानी बढ्दै जान्छ । हामीले जलविद्युतको विकास गरेर बिजुली उत्पादन गर्छौँ, देशमा उद्योग धन्दाहरू पनि फस्टाउँछ, जति धेरै उद्योग व्यवसाय फस्टायो, मान्छे आर्थिक रुपमा पनि समुन्नत हुन्छ । आर्थिक रुपमा समुन्नत भइसकेपछि स्वाभाविक रुपमा उनीहरूले उपभोग गर्ने कुरा सुन–चाँदीसँग जोडिएका पनि किन नहोस्, महिलाहरूले लगाउने गहना होस्, पुरुषहरूले लगाउने माला होस्, हातमा बाला होस्, यी सबै कुराहरू पनि हुन सक्दछन् । तर सम्पन्नता भएन भने उपभोगको स्तर घट्दै जान्छ । उपभोग जति धेरै भयो भने व्यापारहरू पनि फस्टाउँदै जान्छ । नेपालमा सुन चाँदीको भाउ कति छ । भारतमा सस्तो, नेपालमा महँगो । भारतमा महँगो या नेपालमा सस्तो । यो सबै कुराहरू पनि धेरै कुराहरूसँग जोडिएका छन् । अवैध व्यापारलाई रोक्ने पनि राज्यको कर्तव्य र दायित्वभित्र पर्दछ । हामी कसैले पनि अनुचित तरिकाबाट आयआर्जन गर्ने कुरालाई प्रोत्साहन गर्ने होइन । हाम्रा धेरै उद्योगहरू अहिले अस्ताउन थालेका छन् । सिमेन्ट उद्योगको हालत त्यस्तै छ । नेपालमा साधन स्रोत खनिज पदार्थहरूको भण्डार छ । यी खनिज पदार्थहरूको भण्डारहरूमध्ये हामीलाई थाहा छ, कालिगण्डकीमा पनि अनेकौँ खालका त्यस्ता चिजहरू फेला पर्ने गरेका छन् । नेपालमा चाहे सुन होस्, चाहे अरु अनेक किसिमका धातुहरू होस्, यी सबै धातुहरू के–के फेला पार्न सकिन्छ, त्यसको लागी खोज अनुसन्धान गर्ने आवश्यक्ता पनि पर्छ ।’

उनले सुनचाँदी लगायतका वस्तुमा हुने अवैध कारोबार नियन्त्रण गर्नुपर्नेमा पनि जोड दिए । वैध व्यापार र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनको भनाई छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x