मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरु उनीहरुको गोजीमाः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताएका छन् ।
आईतवार काठमाडौंमा आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरु समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरु खुलिरहेको बताए । उनले मुलुकको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल एक खर्बभन्दा बढी बिगो मागसहित प्रक्रियामा रहेको जिकिर गरे । सरकार अहिले मुलुकको अर्थव्यवस्थामा देखिएको बेथितिलाई सफा गर्ने अभियान रहेको उनको भनाइ छ । मुलुक कहिल्यै बन्दैन भनेर युवाहरु विदेशिनुपर्ने भाष्य चिर्नेगरी सरकार अघि बढिरहेको उनको दाबी छ ।
अर्थमन्त्री वाग्लेले मुलुकको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरु गरेको बताए । उनले दशकौँदेखि चर्चामा सिमित कर सुधारका एजेण्डालाई वर्तमान सरकारले कार्यान्वयनमा लगेको दाबी गरे । अर्थमन्त्री वाग्लेले करको बोझ र कानूनी झन्झटका कारण व्यवसाय बन्द गरेर बसेका वा लुकेर बस्न बाध्य भएका साना उद्यमीहरूका लागि सरकारले विशेष ‘आममाफी’को योजना ल्याएको जानकारी दिए ।
सार्वजनिक सेवा प्रवाहलाई झन्झटमुक्त बनाउन सरकारले मालपोत, राहदानी र लाइसेन्स जस्ता कार्यालयहरूमा आमूल सुधार गरिरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ । नागरिक एपमार्फत थप १०० वटा सेवाहरू उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिँदै उनले डिजिटल माध्यमबाट सेवा प्रवाह गरी बिचौलियाहरूको भुमिका अन्त्य गर्ने स्पष्ट पारे । सफ्टवेयर र हार्डवेयर खरिदमा हुने आर्थिक अनियमिततालाई चिर्दै प्रविधिमैत्री प्रशासन बनाउन सरकार दृढ रहेको उनको भनाइ थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE