गगन थापाले नै एकताका लागि पहल नगरेको कांग्रेस संस्थापन इतर समूहको दाबी, सात बुँदे प्रस्तावले निकास नदिने जिकिर, पार्टी एकढिक्का बनाउन आग्रह
काठमाडौं । नेपाली कांग्रेसको किचलो अझै साम्य भएको छैन् । सभापति गगन थापाले सहमतिको लागि सात बुँदे प्रस्ताव गर्दा जवाफ नभएको बताइरहेका छन् । तर, निरन्तर गुटगत गरिरहेका संस्थापन इतर समूहले सभापति थापा वार्तामै बस्न नचाहेको आरोप लगाइरहेका छन् । आइतबार बिराटनरमा भएको संस्थापनइतर समूहको भेलामा बोल्ने नेताहरुले पार्टी एकढिक्का बनाउन सभापति थापा नै सक्रिय हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातन्त्रको लागि लडेको कांग्रेसमा निरङ्कुशता सुरु भएको बताएका छन् । विराटनगरमा कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको एकता भेलामा कांग्रेसको जन्म लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको भन्दै उनले अहिले देशैभरि वडाका सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भएको बताए । के–को निम्ति भन्दा अद्यावधिक गर्न नमानेको आधारमा हटाइयो उनको आरोप छ । कांग्रेसले सबै शक्तिलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले त्यही दिशामा आफूहरु सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्ने बताए ।
कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको विशेष महाधिवेशन सम्बन्धी बहस अन्त्य गरी संगठनात्मक एकता कायम गर्न आग्रह गरे । सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लाई विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवाद अन्त्य गर्न सिटौलाले आग्रह गरे ।
त्यस्तै, कार्यक्रममा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी फुटिसकेको बताए । उनले गगन थापाले एक्लै पार्टी चलाउन नसक्ने भन्दै कोइराला निवास जाँदा आफ्नो आँखाबाट आँशु आएको बताए । पार्टी दुई टुक्रा भएको भन्दै उनले एक मात्र विकल्प एकता रहेको बताए ।
नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पु¥याएको आरोप लगाए । पार्टीभित्रको आन्तरिक विवाद र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर आक्रोशित बनेका बस्नेतले नेतृत्वले जानाजानी पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको बताए ।
अर्का नेता विजयकुमार गच्छदारले कांग्रेसीहरू अहिले कांग्रेससँगै डराइरहेको बताए । नेता गच्छदारले पार्टीको विरासत जोगाउन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तल्लो तहदेखि नै संगठन सुदृढीकरणमा लाग्न आग्रह गरेका थिए । अर्का नेता बलबहादुर केसीले पार्टीभित्र निष्ठावान् कार्यकर्ताको संरक्षण हुन नसकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका थिए । एकताका लागि संस्थापन पक्षले ७ बुँदे प्रस्ताव पठाएको तर, जवाफ नआएको भन्दै आएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE