सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति
काठमाडाैं । नेपाली काँग्रेसकी सांसद रेनुका काउचाले मुलुकको सीमा सुरक्षा, शान्ति सुरक्षा र सरकारको कार्यशैलीप्रति आपत्ति प्रकट गरेकी छन् ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद काउचाले सीमा क्षेत्रमा नेपाली नागरिकले असुरक्षित महशुस गरिरहँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाएकी हुन् । सांसद काउचाले प्रधानमन्त्रीले केही समयअघि ‘नेपालले पनि भारतको सीमा मिचेको’ भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उक्त भनाइपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को घुसपैठ बढेको दाबी गरिन् । प्रधानमन्त्रीको सोही गैरजिम्मेवार अभिव्यक्तिका कारण सुस्तामा भारतीय सुरक्षाकर्मीहरू बारम्बार प्रवेश गर्ने गरेको र स्थानीय बासिन्दाले साहसका साथ उनीहरूलाई धपाउनुपरेको उनकाे भनाइ छ। सम्बोधनका क्रममा उनले सरकारको पारदर्शितामाथि पनि गम्भीर प्रश्न उठाइन् । गत भदौ २३ र २४ गते भएको आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले बुझाएको प्रतिवेदन सरकारले सार्वजनिक नगरेकोमा उनले असन्तुष्टि व्यक्त गरिन्। वर्तमान समस्या र प्रतिवेदनहरूलाई बेवास्ता गर्दै सरकारले पुराना घटनाहरूको छानबिनको कुरा गरेर जनआँखामा छारो हाल्न खोजेको उनको टिप्पणी थियो । यसैगरी, मन्त्रीहरूको सम्पत्ति छानबिन र छानबिन समितिका प्रतिवेदनहरूको कार्यान्वयनमा सरकार गम्भीर नभएको काउचाले बताइन्। मन्त्रीहरूमाथि उठेका प्रश्न र त्यस सम्बन्धमा बनेका छानबिन समितिका प्रतिवेदनहरू सार्वजनिक नै नगरी पुनः मन्त्री नियुक्त गरिनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उनकाे भनाइ छ।
उनले भनिन्, ‘गत जेठ १७ र २९ गते सुस्तामा एसएसबी प्रवेश गर्दा स्थानीयले प्रतिकार गरे, तर आफ्ना नागरिकलाई ढाडस दिनुपर्ने सरकार यस विषयमा किन मौन छ ?’
सांसद काउचाले संसद् र आम नागरिकलाई उपेक्षा गर्ने सरकारी प्रवृत्ति गैरजिम्मेवारीपनको पराकाष्ठा भएको उल्लेख गर्दै यस विषयमा सरकारले अविलम्ब सदनलाई स्पष्ट जवाफ दिनुपर्ने मागसमेत गरिन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE