शुक्रबार, असार ५, २०८३
Friday, June 19, 2026

इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधार, संस्थागत विकास र प्रविधिमैत्री निर्वाचनमा जोड

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले आफ्नो कार्यकालका लागि महत्वाकांक्षी कार्ययोजना र मार्गचित्र सार्वजनिक गरेका छन् ।

नवनिर्वाचित कार्यसमितिको सम्मानमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले ऊर्जा क्षेत्रको विकास, लगानीको सुरक्षा र नीतिगत सुनिश्चिततालाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गरेका हुन् ।यस कार्यकालका लागि ‘हाम्रो ऊर्जा, हाम्रो भविष्यः लगानीको सुरक्षा र नीतिगत सुनिश्चितता’ भन्ने मूल नारा तय गरिएको उनको भनाइ छ । उनले समृद्ध ऊर्जा क्षेत्रका लागि निर्णायक नेतृत्व प्रदान गर्ने प्रतिवद्धतासहित ‘इप्पान भिजन २०२९’ मा उल्लेखित कार्यक्रमहरूलाई अक्षरशः कार्यान्वयन गर्ने बताए । सामूहिक नेतृत्वको अवधारणालाई आत्मसात् गर्दै इप्पानले सातवटा विशेष समिति र आवश्यकताअनुसार उप–समितिहरू गठन गर्ने भएको छ । ती समितिहरूलाई कार्यसूचीसहित पूर्ण अधिकार प्रत्यायोजन गरी सक्रिय बनाइने डाँगीले उल्लेख गरे ।

इप्पानका निःवर्तमान अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डाहरूलाई सरकारको नीति र कार्यक्रममा समावेश गराउन सफल भएको बताए । विगतको कार्यकालमा इप्पानले उठाएका मागहरूलाई सरकारले गम्भीरतापूर्वक लिएको र ती एजेण्डालाई कार्यान्वयनको चरणमा लैजानु अबको मुख्य चुनौती रहेको उनको भनाइ छ ।

इप्पानका पूर्वअध्यक्ष कृष्ण आचार्यले उर्जा क्षेत्रमा व्याप्त समस्या समाधानका लागि सरकारलाई सामूहिक रूपमा दबाब दिनुपर्ने बताए । उनले उर्जा क्षेत्रका जायज मागहरू सम्बोधन गराउन शक्ति प्रदर्शन र एकताको खाँचो रहेको औँल्याए । आचार्यले विद्युत खरिद सम्झौता र साधारण शेयर निष्कासनमा देखिएका ढिलाइप्रति आपत्ति प्रकट गरे ।

सरकारी कार्यशैलीको आलोचना गर्दै आचार्यले एकद्वार प्रणाली केवल कागजमा मात्रै सीमित भएको टिप्पणी गरे । उद्यमीहरूबीचको आन्तरिक प्रवृत्तिको चर्चा गर्दै आचार्यले संस्थागत हित विपरित व्यक्तिगत स्वार्थका लागि फाइल दौडाउने महारोगबाट मुक्त हुनुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x