प्रथम महाधिबेशनका लागि रास्वपाको तयारी तिब्र, पदाधिकारी र केन्द्रीय समितिको संख्या बढाइयो, बन्दसत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने
काठमाडौं । संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिबेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ । पार्टी गठनको छोटो समयमै देशको नेतृत्व लिन पहिलो दल बनेको रास्वपाले स्थापना दिवसकै दिन महाधिबेशन गर्न लागेको हो । महाधिबेशनबाट नयाँ कार्यसमिति समेत चयन हुनेछ । रास्वपालाई कार्यसमिति र पदाधिकारीमा आकांक्षी धेरै भएका कारण छनोट गर्न भने सकस पर्ने देखिन्छ ।।
राष्ट्रिय स्वतन्त्र पार्टीको असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि तयारी तिब्र बनाइएको छ । भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको कामलाई तीव्र पारिएको हो । उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिनेछ । डोमको छानो विशेष वाटरप्रुफ टेन्साइल फेब्रिकबाट तयार गरिने र जसले घाम, पानी र हावाको प्रभावबाट सहभागीलाई सुरक्षित राख्ने जनाइएको छ । करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा तीनवटा डोम जोडेर एउटै विशाल हल निर्माण गरिनेछ । उक्त संरचनाभित्र एलइडी स्क्रिन, पङ्खा, कुलर तथा कुर्सी व्यवस्थापनका लागि पर्याप्त स्थान रहनेछ । महाधिवेशनमा सहभागी तथा आगन्तुकका सवारीसाधनका लागि केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङ व्यवस्थापन गरिनेछ । रास्वपाले उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताका साथै छिमेकी मुलुकका प्रतिनिधिलाई समेत आमन्त्रण गरेको जनाएको छ । महाधिवेशनको बन्दसत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
पहिलो पटक हुन लागेको रास्वपाको महाधिबेशनमा नयाँ कार्यसमिति समेत चयन हुनेछ । जसका लागि नेताहरुको निक्कै रस्साकस्सी हुने देखिन्छ । विभिन्न पार्टीसँगको एकीकरण र नेता ब्यवस्थापन नै रास्वपाका लागि चुनौती छ । नेता ब्यवस्थापन लागि पार्टीको केन्द्रीय पदाधिकारी संख्या १९ सदस्यीय हुने भएको छ । विधान संशोधन गदै रास्वपाले वरिष्ठ नेतासहित १९ सदस्यीय पदाधिकारी बनाउने निर्णय बिहीबार बसेको सचिवालय बैठकले गरेको हो । विधान संशोधन गर्दै एक वरिष्ठ र एक जना सहमहामन्त्री थपेर १९ सदस्यीय बनाउने निर्णय भएको हो । यसअघि सहमहामन्त्री चार जना र वरिष्ठ नेताको व्यवस्था थिएन । अव सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ महिला), महामन्त्री २, सहमहामन्त्री ५ (१ महिला), प्रवक्ता १, सह प्रवक्ता ३ (१ महिला), कोषाध्यक्ष १, सहकोषाध्यक्ष २ (१ महिला) राखिएको छ । विपिन नेतृत्वको विधान संशोधन समितिले १६ जना मात्रै पदाधिकारी रहने प्रस्ताव गरेको थियो । रास्वपाले केन्द्रीय समिति संख्या पनि बढाउने भएको छ । १५१ सहित सात प्रदेशका सभापति पदेन हुने गरी १५८ सदस्यीय बनाउने निर्णय भएको छ । यसअघि रास्वपाको केन्द्रीय समितिको संख्या पदेनसहित १ सय २९ सदस्यीय रहेको थियो । रास्वपाले आगामी राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा विशेष व्यवस्था गरेको छ । पार्टीको केन्द्रीय सङ्गठन विभागले मधेस प्रदेशका ७ जिल्ला (पर्सा बाहेक) र अन्य प्रदेशका निर्वाचन हुन नसकेका जिल्लाहरूका लागि प्रतिनिधिको विशेष व्यवस्थासम्बन्धी कार्यविधि पनि सार्वजनिक गरेको हो । रास्वपाको महाधिवेशनबाट केन्द्रीय समितिका लागि निकै पेचिलो प्रतिस्पर्धा हुने देखिन्छ । सभापतिमा रवि लामिछानेको विकल्प नभएको नेताहरुले बताइरहेका छन् । महाधिबेशनले सभापतिमा रवि लामिछानेलाई नै सर्वसम्मत नेतृत्व दिने तयारी भइरहेको छ । अहिलेसम्म रविको प्रतिष्पर्धी कोही देखिएको छैन् ।
वरिष्ठ नेता पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई नै बनाइने छ । उनको प्रतिष्पर्धी पनि कोही देखिएको छैन् । तर, अन्य पदका लागि भने नेताहरुको निक्कै रस्साकस्सी देखिएको छ । सामाजिक सञ्जालमा उमेद्वार बनेको घोषणा नेताहरुले गर्न थालेका छन् । रास्वपामा विभिन्न पार्टी र समूहबाट प्रबेश गरेकाहरुलाई समेत केन्द्रीय समिति र पदाधिकारीमा समेट्नुपर्नेछ । यतिबेला बालेनको टीम पनि रास्वपाभित्र बलियो पकडमा रुपमा देखिएको छ । सर्वसम्मती नयाँ कार्यसमिति बनाउने नेताहरुले बताएपनि चितवनको गर्मीमा नेताहरुको उमेद्वारीले महाधिबेशन झनै गरम हुने देखिन्छ ।।
००००
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE