सांसदहरुले जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधि अघि बढाउनुपर्दछः सभामुख अर्याल
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधिहरु अघि बढाउन सांसदहरुलाई निर्देशन दिएका छन् ।
सभामुख अर्यालले लाखौँ नेपाली जनताले मत दिएर पठाएका जिम्मेवारी नागरिक भएको हुनाले सांसदहरुले आम जनताको मूल्याकंनमा अब्बल हुनेगरी व्यवहार देखाउनुपर्ने स्पष्ट पारेका हुन् । संघीय संसद सचिवालयले सिंहदरबारमा सोमवारदेखि सांसदहरुका लागि आयोजना गरेको २ दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उनले सांसदहरुबीच राम्रो कानून बनाउने कुरा, राम्रो व्यवहार प्रदर्शन गर्ने कुरामा प्रतिष्पर्धा हुन आवश्यक रहेको समेत बताए । सांसदहरुको हरेक गतिविधिलाई आम जनताले मूल्यांकन गरिरहेको हुनाले उनीहरुले जनताको माझमा अब्बल हुनेगरी काम गर्नुपर्ने सभामुख अर्यालको भनाई थियो । उनले उक्त अभिमुखिकरण कार्यक्रमबाट सिकेर सांसदहरुले आफनो भुमिकालाई आगामी दिनमा अझ बढी प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरे ।
सभामुख अर्यालले भने,‘धेरै माननीय सदस्यहरु नयाँ छौँ । नयाँको अर्थ यो होइन कि तपाईंहरुले नेपाल नबुझनु भएको हो । नेपालको कानून नबझ्नुभएको हो, विधि नबुझ्नुभएको भन्ने होइन । तर यो संघीय संसद प्रतिनिधि सभाको यसको विधि, प्रक्रियामा हामी अभ्यस्त छैनौँ । हामीले त्यसमा काम गरिरहेका छैनौँ । त्यसअर्थ नयाँ भनेका छौँ । त्यसकारण हामीले यहाँहरुको अलि बढी उपस्थितिको अपेक्षा गरेका थियौँ आज । १० बजे अलि समयमा नै उपस्थितिमा अपेक्षा गरेका थियौ आज । त्यसकारण हामी संघीय सांसद हौँ । हामी सांसद हौँ । हामी प्रतिनिधि सभाको हजारौँ, लाखौँ जनताले हरेक एक एक जनाले मत दिएर पठाएको एक जना जिम्मेवार नागरिक हौँ । त्यसकारण हामीले गर्ने व्यवहार आजैको समयमा उपस्थिति हुने कुरादेखि आजै हामी सबै उपस्थित हुने कुरादेखि यी हरेक कुराहरुलाई जनताले मूल्यांकन गरिरहेको हुनुहुन्छ । अव तपाईंहरुको मूल्यांकन मैले अथवा ४÷६ जनाको टीमले अथवा संघीय संसद सचिवालय अथवा प्रधानमन्त्रीले अथवा कसैले तपाईहरुको आ आफनो पार्टीको सभापति वा अध्यक्षले भन्दा पनि अब तपाईं हामी सबैको मूल्यांकन जनताले गरिरहेको हुनुहुन्छ भन्ने मलाई लाग्दछ । त्यसकारणले जनताले गर्ने त्यो मूल्यांकनमा हामी अब्बल नम्बर ल्याउन सक्ने कसरी बन्छौँ त ? हामी सांसद–सांसदहरुबीचको स्वास्थ प्रतिष्पर्धा राम्रोको लागि कानून बनाउने कुरामा, राम्रो व्यवहार देखाउने कुरामा, राम्रो प्रश्तुति दिने कुरामा हामी कसरी अब्बल बन्न सक्छौँ त ? त्यसकारण आज र भोलीको बसाईले एउटा यस्तो सिकाई बनोस, तपाईंहरुलाई आज र भोली हामीले धेरै अगाडि नै सूचना जारी गरिसकेको हुनाले हतार नगरी भित्र बस्दाखेरी साईटटक नगरी मोबाईलमा धेरै अभ्यस्त नभई समय पैसा खर्च गरेर आईसकेपछि केही सिकेर जाऔँ, त्यो प्रयास होस् । तपाईहरुको यो सिकाईबाट अब हुने प्रतिनिधि सभा बैठकमा आज र भोलीको अभिमुखिकरण तालिमबाट केही सिकेको अनुभूति सभामुखको हैसियतले मैले पनि गर्न पाउँ । संघीय संसद सचिवालयले गर्न पाओस् । त्यो भन्दा पनि सबैभन्दा बढि तपाईंहरुको मतदाताले गर्न पाउन ।’
सभामुख अर्यालले उक्त अभिमुखिकरण कार्यक्रममा सबै सांसदहरुको उपस्थिति नभएकोमा असन्तुष्टि समेत व्यक्त गरे।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE