झलनाथले पार्टी फुटाउँदैछ भनेर कुप्रचार गरियोः खनाल
काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गरेर नयाँ दल गठन गर्न लागेको भन्ने निराधार हल्ला र कुप्रचार गरिएको भन्दै त्यसको खण्डन गरेका छन् ।
सोमवार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू जीवनभर गुटबन्दीको विरोध गर्दै आएको व्यक्ति भएको भन्दै पार्टी फुटाउने वा नयाँ पार्टी खोल्ने कुनै योजना नरहेको स्पष्ट पारे। उनले अहिलेको लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापनाका लागि समाजवादी क्रान्ति र समाजवादी रूपान्तरण आवश्यक रहेको बताए । आन्दोलनभित्र देखिएका विकृति, असमझदारी र विचलनलाई वैचारिक बहसमार्फत समाधान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक लेखेको बताए। नेता खनालले वैज्ञानिक समाजवादको स्पष्ट वैचारिक आधार निर्माण गर्नु अहिलेको आवश्यकता रहेको पनि बताए।
उनले भने, ‘अहिलेको लोकतन्त्रलाई अधिकतम उपयोग गरेर हामीले समाजवादी लोकतन्त्रमा पुग्नको निम्ति अब समाजवादी क्रान्ती चाहिन्छ । समाजवादी रुपान्तरण चाहिन्छ । र अब हामीले स्थापना गर्न चाहिरहेको समाजवादी लोकतन्त्र हो । हाम्रो आन्दोलनभित्र रहेका कतिपय रिफराफहरु, कतिपय विकृतिहरु छन् । असमझदारीहरु पनि छन् । ती कुरा तोड्नको लागि यो कितावले अलिकति पनि मद्दत गर्यो भने मलाई त्यसले खुशी बनाउनेछ । यही भएर मैले वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद भन्ने पुस्तक लेखेको हुँ । केही मान्छेहरुले झलनाथले अर्को पार्टी खोल्न थालेछ, पार्टी फुटाउन लागेछ भनेर कुप्रचार गरेछन् । म ती कुप्रचारकहरुलाई फेरि एकपटक भन्न चाहन्छु, साथिहरु कुप्रचारको खेल कसैले पनि नखेल्नुहोस् । झलनाथ खनाल कहिल्यै एउटा गुट पनि नबनाएको मान्छे हो । गुट बनाउने कुरा पनि गलत हो भन्दै आएको मान्छे हो । तर यतिबेला हामीले वैज्ञानिक समाजवादको विचार निर्माण नगरिहुने भएन ।’
उनले भ्रम र कुप्रचारको राजनीति नगर्न समेत आग्रह गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE