‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै बिहीवारसम्म देशभरको मौसम थप प्रतिकूल रहने अनुमान गरिएको छ । बंगालको खाडी क्षेत्रमा विकसित न्युनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढिरहेको कारण मनसुनी गतिविधि थप सशक्त बनेको र वर्षाको मात्रा बढ्ने अवस्था सिर्जना भएको मौसमविद्हरुले बताएका छन् । मनसुनजन्य विपद्को सम्भावित घटनाको जोखिम कम गर्न तथा प्रतिकार्यको लागि सरकारका संयन्त्रहरु सक्रियताका साथ काम गरिरहेका छन् । सशस्त्र प्रहरी बल नेपालले विपद्को समयमा तत्काल उद्धार टोली पुग्न समस्या हुने अति संवेदनशील र जोखिमयुक्त स्थानहरूको पहिचान गरी देशका ५४ स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य वेस’ स्थापना गरेको एपीएफ नेपालका प्रवक्ता नेत्रबहादुर कार्कीले बताए ।साथै विपद्पछिको उद्धार तथा राहतका लागि गोताखोरसहितको टोलीलाई आवश्यक उपकरणसहित देशभरका जोखिमयुक्त स्थानमा खटाइएको उनको भनाइ छ ।उनले विपद् प्रतिकार्य एवं व्यवस्थापनका लागि तीन वटै तहका सरकार एवं राज्यका सबै संयन्त्रहरुबीच प्रभावकारी रुपमा सहकार्य भइरहेको समेत बताए ।
विपद्सम्बन्धी सूचना प्राप्त गर्ने उद्देश्यले सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत समुदायबाट प्राप्त सूचना बाहिनी तहको अपरेसनल रुममा तत्काल पुग्ने र उद्धार टोली परिचालन हुने व्यवस्था मिलाइएको सूचना अधिकारी कार्कीले बताए । मनसुनजन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ कार्यान्वयनलाई प्राथमिकता दिइएको उनको भनाइ छ बाइट… नेत्रबहादुर कार्की, प्रवक्ता, शस्त्र प्रहरी बल नेपाल
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद् व्यवस्थापन र प्रतिकार्यका लागि राज्यका सबै संयन्त्रहरु सक्रिय बनाइएको बताए । उनले विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, प्रविधि र उपकरण विगतको तुलनामा थप व्यवस्थित गरिएको दाबी गरे । सांसद गजुरेलले नेपालको छरिएको बस्ती संरचना र सिमित स्रोत–साधनका कारण विपद् प्रतिकार्य र व्यवस्थापनको कार्य चुनौतीपूर्ण रहेको पनि बताए । विपद् व्यवस्थापन र प्रतिकार्यका लागि स्थानीय सरकारलाई पर्याप्त स्रोत र साधनयुक्त बनाउनुपर्ने बताउदै उनले केही स्थानीय तहले विपद् व्यवस्थापनको लागि बजेट समेत विनियोजन गर्ने नगरेको भन्दै यस विषयमा संघीय सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए । सरकारले विगतका वर्षहरुमा विपद्पछिको उद्धारमा भएका कमजोरीको अनुभवको आधारमा चनाखोका साथ काम गरिरहेको सांसद गजुरेलको भनाइ छ ।
यस्तै, मनसुनजन्य विपद् व्यवस्थापनका लागि नेपाली सेनाले तीन चरणको तयारी गरेको छ ।मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले तीन चरणको विशेष पूर्वतयारी कार्ययोजना अघि सारेको हो । सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्युनिकरण र तत्काल उद्धारका लागि सेनाले जनशक्ति र स्रोतसाधनलाई उच्च शतर्कताका साथ परिचालन गरेको हो । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतकाअनुसार पहिलो चरण अन्तर्गत पूर्वतयारी र योजना निर्माणको कार्य सम्पन्न भएको छ । यस क्रममा विगतका विपद्का घटनाहरूको गहन अध्ययन र अनुसन्धान गरी विद्यमान योजनालाई परिमार्जन गरिएको छ । जङ्गी अड्डादेखि तल्लो तहका इकाइहरूसम्म ’हातेमालो’ लगायतका विभिन्न संयुक्त अभ्यासहरू सञ्चालन गरी फौजलाई तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।
यसैबीच, नेपाली सेनाले आम सर्वसाधारणलाई नेपाल सरकारद्वारा जारी हुने मौसम पूर्वानुमानलाई नियमित रूपमा अनुशरण गर्न अनुरोध गरेको छ । विपद्का घटना भए तत्काल स्थानीय वा जिल्ला विपद् व्यवस्थापन समिति, नजिकको प्रहरी युनिट वा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमा जानकारी गराउन समेत प्रवक्ता बस्नेतले अपिल गरेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE