बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले नेपालमै आकर्षक रोजगारीको आधार निर्माण गर्न लागेको दाबी गरेका छन् ।

मन्त्रालयमा बिहीवार आयोजित सम्मान कार्यक्रममा उनले नेपालको श्रम बजारलाई सीपयुक्त, सम्मानजनक र आकर्षक रोजगारीको अवसर सिर्जना गर्ने दिशामा सरकारले काम गरिरहेको बताएका हुन् । विदेश जाने युवाले पनि सीप, प्रविधि र ज्ञान आर्जन गरी थप सक्षम भएर स्वदेश फर्किने वातावरण तयार पारिने उनको भनाइ छ । सरकारले आन्तरिक रोजगारी प्रवद्र्धनसँगै वैदेशिक रोजगारीलाई सुरक्षित, सीपमुखी र उत्पादनमुखी बनाउने नीति अवलम्वन गरेको बताए । उनले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामार्फत स्वदेशमै स्थापित गर्ने सरकारको नीति रहेको उल्लेख गरे ।

उनले भने, ‘यो सरकार नेपालको श्रम बजारलाई सीपयुक्त, उद्यमशिलता र रोजगारीका लागि सम्मानजनक र आकर्षक बनाउन प्रतिवद्ध छ । हामी यस्तो बलियो आधार निर्माण गर्दैछौँ, जसले युवाहरूलाई नेपालमै बस्ने वातावरण बनाउनेछ । र यदि तपाईं विदेश जान चाहनुहुन्छ, संसार हेर्न चाहनुहुन्छ, नयाँ कुरा सिक्न चाहनुहुन्छ र आर्जन गर्न चाहनुहुन्छ भने पनि तपाईं नयाँ सीप, प्रविधि र ज्ञान लिएर अझ सक्षम भएर फर्किन सक्ने वातावरण निर्माण भइरहेको छ । ढुक्क हुनुहोस्, हामी देश यसैपालि बनाउँछौँ ।’

उनले श्रम कानून पालना गराउन पनि मन्त्रालयले काम गरिरहेको जानकारी दिए । मन्त्रालयले हालसम्म ८ सय ८१ भन्दा बढी प्रतिष्ठानको निरीक्षण गरिसकेको उनको भनाई छ । उनले श्रम कानून उल्लंघन गर्नेविरुद्ध कारबाही र जिम्मेवार रोजगारदातालाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिएको बताए । मन्त्री यादवले श्रमिकले सुरक्षित वातावरण, सम्मानजनक पारिश्रमीक र कानूनी संरक्षण नपाएसम्म युवालाई स्वदेशमै रोजगारीमा टिकाइराख्न कठिन हुने उल्लेख गरे ।

उनले भने, हामीले नेपालको श्रम बजारलाई आकर्षक बनाउने उपायहरूका बारेमा गम्भीर रूपमा सोच्नुपर्छ । रोजगारदाताहरू जिम्मेवार नभएसम्म र कानूनको पालना नगरेसम्म, श्रमिकहरूले नेपालमै डिसेन्ट वेजेज पाउने अवस्था नभएसम्म युवाहरूलाई नेपालमै बस्ने रिजन हुँदैन । श्रमको पालना गर्नु बर्डेन होइन, बेयर मिनिमम हो ।’
७५३ स्थानीय तह नै बालश्रम मुक्त हुनुपर्छ
मन्त्री यादवले ७ सय ५३ स्थानीय तहलाई नै बालश्रममुक्त घोषणा गर्नुपर्ने बताए । बालश्रम उन्मूलन सरकार र समाज दुवैको साझा जिम्मेवारी भएको उल्लेख गरे। हाल १३ स्थानीय तह बालश्रम न्युनिकरण गरेर सम्मानित भएको भन्दै उनले यो संख्या सबै ७५३ स्थानीय तहमा विस्तार हुनुपर्ने आवश्यकता औंल्याए। बालबालिका श्रममा नभई विद्यालयमा हुनुपर्ने उनको भनाई छ ।

उनले भने,‘वास्तवमा बालबालिका काममा हुनुहुँदैन । उनीहरू प्ले ग्राउण्डमा हुनुपर्छ, उनीहरू स्कुलमा हुनुपर्छ । आज केवल १३ वटा पालिकाले यो सम्मान पाइरहेका छन् । यो संख्या पर्याप्त नभएर अझै बढाउनुपर्नेछ । यो संख्या छिटोभन्दा छिटो ७ सय ५३ पुगोस् भन्ने मेरो चाहना हो । बालश्रम उन्मूलन हुनुपर्छ र यो सरकारको मात्र होइन, सम्पूर्ण समाजको जिम्मेवारी हो । बालबालिका काम गरिरहेका छन् भन्ने त्यो हाम्रो सामूहिक असफलता हो । यसलाई तत्काल र उच्च प्राथमिकताका साथ समाधान गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो । बालश्रम उन्मूलनका लागि हामी यहाँबाट युद्धस्तरमा अघि बढ्नुपर्छ ।’
उनले श्रमिकले सुरक्षित भएको अनुभुति गर्ने, बालबालिका विधालयमा हुने र रोजगारदाताले कानुनको सम्मान गर्ने वातावरण नभएसम्म राष्ट्र बलियो नबन्ने बताए।

उनले भने, ‘जब हरेक श्रमिकले आफू सुरक्षित भएको अनुभूति गर्नसक्छ, जब हरेक बालबालिका विद्यालयमा हुन्छन्, जब हरेक रोजगारदाताले कानूनको सम्मान गर्छ र जब हरेक युवाले आफ्नो भविष्य स्वदेशमै निर्माण गर्न सकिन्छ भन्ने विश्वास गर्छ, त्यतिबेला मात्र राष्ट्र बलियो बन्न सक्छ ।’

मन्त्रालयले वालश्रममुक्त गरेका देशभरका १३ स्थानिय तहलाई ताम्रपत्रले सम्मान गरेको छ । यस्तै व्यवसायीहरुको सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ अभ्यास गर्ने ६ वटा प्रदेशका १÷१ प्रष्ठिानहरुलाई पनि सम्मान गरेको मन्त्रालयले जनाएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले कुल २२ वटा सूचकसहितको मापदण्डको स्वीकृत गरेर सोही मापदण्डको आधारमा उत्कृष्ट प्रतिष्ठान छनौट गरेको हो । देशभरका श्रम तथा रोजगार कार्यालयहरुको सिफारिसको आधारमा ६ वटा प्रदेशबाट ६ वटा उत्कृष्ट प्रतिष्ठान छनौट गरीक सम्मान गरिएको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशबाट भने निर्धारित मापदण्ड पूरा गर्न उपयुक्त प्रतिष्ठान नभेटिएको मन्त्रालयले जनाएको छ ।

यसैगरि वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा नै उद्यमशीलताको बाटो रोजेका उद्यमीहरुलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारका लागि प्राप्त ७१ वटा आवेदनबाट विभिन्न सूचकमा आधारित भई सिफारिस समितिले गरेको मूल्याङ्कन र सिफारिको आधारमा ७ जना उद्यमीहरुलाई सम्मानसहित पुरस्कार वितरण गरिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x