शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

बजेट विनियोजनमा सांसदहरु असन्तुष्ट

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारले गरेको बजेट विनियोजनमा असन्तुष्टि जनाएका छन् । मन्त्रालयगत विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिदै उनीहरुले पर्यटन, स्वास्थ्य तथा पूर्वधार क्षेत्रमा प्रयाप्त बजेट नभएको भन्दै असन्तुष्टि जनाएका हुन । सर्वोच्च शिखर सगरमाथा आरोहरणका लागि रोयल्टी वृद्धि गर्नुपर्ने माग समेत बैठकमा उठेको थियो ।

नेपाली काँग्रेसकी राष्ट्रिय सभाकी सांसद विष्णुदेवी पुडासैनीले सरकारले पशुपतिनाथ मन्दिरको व्यवस्थापनका लागि कुनैपनि बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरिन । बिहीवार राष्ट्रिय सभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त असन्तुष्टि व्यक्त गरेकी हुन । बजेटमा पशुपतिनाथको नाम कतै पनि उल्लेख भएको नपाइएको सांसद पुडासैनीको भनाई थियो । सांसद पुडासैनीले पशुपतिनाथ मन्दिरको पूर्वतिर बग्ने वागमती नदीमा ढल मिसिएको अवस्था हुँदा पनि सरकारले त्यसको व्यवस्थापनका लागि कुनैपनि बजेटको व्यवस्था नगर्नुले आफूलाई खल्लो बनाएको पनि बताइन ।

नेकपा एमाले राष्ट्रिय सभाकी सांसद सम्झना देवकोटाले निर्माणाधिन आधारभुत स्वास्थ्य अस्पतालको निर्माणका कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिन । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको खर्च कटौतिको प्रश्ताव पेश गर्दै उहाँले उक्त माग गरिन । आमा सुरक्षा, ज्येष्ठ नागरिक सुरक्षा, गर्भवती, नवराज शिशु सुरक्षा जस्ता सेवाहरु दिनका लागि पनि सरकारले उक्त अस्पतालहरुको निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने सांसद देवकोटाको भनाई थियो ।

नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभाकी सांसद जयन्तिदेवी राईले सरकारले सुकुम्बासीहरुको तत्कालीन समस्या पनि सम्बोधन गर्न नसक्ने दाबी गरिन । उनले सरकारले विनियोजन गरेको बजेटले सुकुम्बासीहरुको तत्कालको समस्या पनि समाधान गर्न नसक्ने देखिएको स्पष्ट पारिन । सांसद राईले शिक्षा क्षेत्रमा समेत सरकारले गत वर्षको भन्दा पनि बजेट घटाएको भन्दै असन्तुष्टि व्यक्त गरिन ।

एमाले सांसद सोनाम ग्याल्जेन शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहरणका लागि रोयल्टी वृद्धि गर्नुपर्ने माग गरे । सांसद शेर्पाले यथास्थितिमा सगरमाथाको आरोहणलाई कायम राख्ने हो भने आगामी २० वर्षमा सगरमाथाको अवस्था राम्रो नरहने चेतावनी समेत दिए । सगरमाथालाई हिराको रुपमा चित्रण गर्दै सांसद शेर्पाले सरकारले यसलाई कौडीको मूल्य बराबर पनि महत्व नदिएको भन्दै आपत्ति समेत जनाएका थिए ।

सांसद शेर्पाले सरकारले हिमालको पर्यटनलाई महत्व नदिएको गुनासो पनि गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x