काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता र आगामी कार्यदिशाबारे छलफल
काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर पक्षले १५ औँ महाधिवेशनको तयारीका लागि भन्दै काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्यहरूको सक्रियतामा कार्यालयको उद्घाटनसँगै औपचारिक बैठक समेत बसेको थियो । बैठकले आगामी साउन ६ गते विपी कोईरालाको स्मृति दिवसलाई ऐतिहासिक रूपमा मनाउने निर्णय गरेको छ ।
विशेष महाधिबेशनपछि दुई कित्तामा विभाजित भएको नेपाली कांग्रेसको संस्थापन इतर समूहले छुट्टै सम्पर्क कार्यालय खोलेको छ । एकताका लागि छलफल चलेपनि ठोस निकास नआउँदा इतर समूहले सम्पर्क कार्यालय खोलेको हो । सोमबार एक कार्यक्रमबीच इतर समूहको नेतृत्व गरिरहेका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले साँचो खोलेर कार्यालय उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा नेताहरु डा. शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायत सहभागी थिए । त्यसअघि नेताहरूबीच छलफल भएको थियो । छलफलमा पूर्णबहादुर खड्काले सहमतिका लागि पछिल्लो समय भएका छलफलको बिषयमा ब्रिफिङ गरेका थिए । उनले आफूहरु सहित अहिले शेखर कोइरालासहित १ सय ११ जनालाई केन्द्रीय कार्यसमितिमा समायोजनको प्रस्ताव गरेको बताए । सातबुँदेको जवाफ भेटेकै दिन उपसभापति विश्वलाई दिएको उनले बताए । उनले उपसभापति विश्वप्रकाश शर्माले आफू र शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति भइसकेको बताएको पनि ब्रिफिङ गरे । तर आफूले त्यसलाई अस्वीकार गरेको उनको भनाइ छ । बैठकमा काँग्रेसलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजानेबारे छलफल भएको नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए । काँग्रेस विगतमा पनि देशको ठूलो पार्टी रहेको र अहिले केही खस्किएको भएपनि आगामी दिनमा अझ ठूलो बनाएर लैजाने प्रतिवद्धता उनको छ ।
नेता विश्वकर्माले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको सामना गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि काँग्रेसभित्र मजबुत एकता आवश्यक रहेको बताए । उनले निर्वाचन आयोग र अदालतबाट मान्यता प्राप्त नेतृत्वले पार्टी एकताका लागि सार्थक पहल गर्न नसकेको आरोप समेत लगाए ।
नेता कुन्दन राज काफ्लेले कांग्रेसभित्र अन्यायमा परेका र विशेष महाधिबेशनको विपक्षमा रहेका नेताहरुको लागि छलफल गर्न सम्पर्क कार्यालय बनाइएको बताए । उनले १५ औं महाधिबेशनको निष्पक्षताको ग्यारेण्टी कसरी गर्न सकिन्छ भन्ने सोच्न आग्रह गरे । काफ्लेले नेताहरुलाई वरिष्ठ नेता दिने भन्दै विशेष महाधिबेशन पक्षले मिडिया ट्रायल गरेको आरोप लगाए ।
आफूहरु सानेपा पार्टी कार्यालय आफूहरु जान तयार भएपनि त्यहाँ जान नदिइएको आरोप उनले लगाए । कांग्रेसमा विशेष महाधिबेशनपछि दुई कित्तामा विभाजित भएर आ–आफना गतिविधि गरिरहेका छन् । सहमति जुटाउन पटक–पटक छलफल गरेपनि निकास निष्किएको छैन् । जसका कारण सभापति गगनकुमार थापालाई थप दवाव दिन उनीहरुले विशेष भेला बोलाउने समेत तयारी गरिरहेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE