१ कार्तिक २०८३, शनिबार

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

0
Shares


काठमाडौं । देशभर यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ ।

चालु आर्थिक वर्ष २०८३ को असार २६ गतेसम्ममा देशभर कुल धान रोपाइँ ४५.८१ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । कृषि विभागलेसार्वजनिक गरेको प्रदेशस्तरको रोपाइँ सारांश विवरणअनुसार गत वर्ष सोही अवधिमा देशभर ५९.२८ प्रतिशत रोपाइँ भइसकेको थियो । गत वर्षको तुलनामा यस वर्ष करिब साढे १३ प्रतिशतले रोपाइँ कम भएको विभागको तथ्यांकले देखाएको छ । कृषि विभागकाअनुसार नेपालमा कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । जसमध्ये असार २६ गतेसम्म ६ लाख २७ हजार ५६६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

प्रदेशगत रूपमा हेर्दा यस वर्ष सबैभन्दा बढी रोपाइँ गण्डकी प्रदेशमा भएको देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको कृषि विभागको प्रतिवेदनमा उल्लेख छ ।गण्डकी प्रदेशमा ६५.९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । धानको मुख्य भण्डार मानिने मधेस र कोशी प्रदेशमा भने यसपालि रोपाइँको गति निकै ढिलो देखिएको छ । मधेस प्रदेशमा कुल ३ लाख ८५ हजार १३३ हेक्टर धान खेती हुने जमिनमध्ये ३२.८ प्रतिशत अर्थात १ लाख २६ हजार ४३९ हेक्टरमा मात्र रोपाइँ भएको छ ।यस्तै, कोशी प्रदेशमा ३१.५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ ।

कोशीमा २ लाख ७६ हजार ३८७ हेक्टर खेतीयोग्य जमिनमध्ये ८७ हजार ३३ हेक्टरमा मात्र रोपाइँ भएको विभागले जनाएको छ । कृषि विभागको तथ्यांअनुसार गत वर्षको तुलनामा यस वर्ष सबैजसो प्रदेशमा रोपाइँको प्रतिशत घटेको छ ।