समस्याग्रस्त पाँच सहकारीका ४२ वचतकर्ताको १७ लाख वचत रकम फिर्ता
काठमाडौं । वागमती प्रदेश सरकारले पाँच वटा समस्याग्रस्त वचत तथा ऋण सहकारी संस्थाका साना वचतकर्ताको बचत फिर्ता गर्न थालेको छ ।
मंगलवार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जावलाखेलस्थित वागमती प्रदेश सुशासन केन्द्रमा ४२ जना वचतकर्तालाई करिव १७ लाख रुपैयाँ वितरण गर्दै वचत फिर्ता कार्यक्रमको शुभारम्भ गरेका हुन् । प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन वचत तथा ऋण सहकारी संस्था, सुमेरु वचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध वचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरेको थियो । वचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले समस्याग्रस्त पाँच सहकारीका १४ हजार ६४ जना वचतकर्ताले बचत फिर्ताको माग दाबी गरेको जानकारी दिए । उनकाअनुसार यी पाँच सहकारी संस्थामा कुल ५१ हजार १ सय ९० सदस्यको करिव ३१ अर्ब ६ करोड रुपैयाँ वचत रकम रहेको छ । त्यसमध्ये २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको बचत फिर्ताको माग दाबी आएको उनले जानकारी दिए । पहिलो चरणमा १० हजारदेखि एक लाख रुपैयाँसम्म वचत भएका साना बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्न थालिएको उनको भनाइ छ ।
मुख्यमन्त्री बानियाँले अगामी दिनमा सहकारीका ऋणीबाट तथा सञ्चालकबाट असुल गरेर वचतकर्ताबको रकम फिर्ता गरिने बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE