सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी
काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठका बोल्ने प्रतिपक्षी दलका सांसदहरुले सरकारले मिडिया हाउस, बिभिन्न राजनीतिक व्यक्तिको घर अघि गाडाी पार्किङ गरेर तर्साउने काम गरेको भन्दै आलोचना गरेका छन् । उनिहरुले मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने कार्यमा संलग्नहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग समेत गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह कसैले प्रश्न गर्न नपाउने निरंकुश शैलीमा अघि बढेको बताए ।उनले श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्दै व्यंग्य गरे । कुनै बेला बोल्न दे सरकार र गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेन्द्र शाह र अहिलेका प्रधानमन्त्री एकै हो कि होइन भन्ने पनि उनले प्रश्न गरेका छन् । उनले राज्य अनधिकृत नेटवर्कमा चल्न थालेको पनि बताए । सुरक्षा घेराभित्र अनधिकृत व्यक्तिहरूले चलाइरहँदा सत्ता पक्षका सांसदहरू मुखमा टेप लगाएर बसेको उनले बताए ।उनले अलोकतान्त्रिक हर्कत गर्ने सरकारको कदम सोमबार देखिएको उल्लेख गरे । कांग्रेस सभापति गगन थापा र मिडिया हाउसअघि गाडी तेस्स्याउने काम अलोकतान्त्रिक र राज्य आतंकको अवस्था भएको उनले बताए ।
राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई ‘श्री ८’ को संज्ञा दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिवशंकर यादवले नेपाली कांग्रेसका सचेतक निश्कल राईको एउटा अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे । राइले बोले लगत्तै नियमात्ति गर्र्दै रास्वपा सांसद यादवले संविधान र संसद्ले नचिन्ने भाषा रेकर्डबाट हटाउन माग गरेका हुन्
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गृहमन्त्री सुधन गुरुङलाई कर्णालीको भीरमा अड्किएकालाई उद्धार गर भन्नू राजनीतिकरण नभएको भनी जवाफ दिए । संसद् भवनमा आगो लगाएर चुनाव लड्नुचाहिँ राजनीतिकरण भएको उनको आरोप छ । आफू पदमा नहुँदा नेताको तलब हटाउनुपर्छ, अघि र पछि ट्याइँट्याइँ र टुइँटुइँ गाडी, सुरक्षाकर्मी राख्न हुँदैन भन्ने तर आफू सत्तामा पुगेपछि सुरक्षाकर्मी, लावालस्कर लिएर हिँड्नेलाई राजनीतिकरण भनिन्छ भन्दै ब्यंग्य गरे ।उनले मिडिया कार्यालयका गेटअगाडि गाडी तेस्र्याइनु राजनीतिकरण भएको टिप्पणी गरे । भीरमा अड्किएका घाइतेको उद्धार गर्न हेलिकोप्टर नपठाउने, फोन नउठाउने र संसद्मा आएर रोएको नाटक गर्नु राजनीतिकरण भएको उनले बताए ।शुक्रबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री गुरुङले मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु र कर्णाली नदीमा गाडी खसेको विषयलाई राजनीतिकरण गरिएको बताएका थिए ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले सोमबार सञ्चारमाध्यमका गेटमा तेस्र्याइएका गाडी जफत गरिनुपर्नेमा जोड दिए । २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाह प्रयासपछि मृत्युको घटनालाई गलत देखाउन राज्यसंरक्षित व्यक्तिले नै उक्त गाडी राखेको उनको आरोप छ ।सांसद मल्लले आइतबार न्युरोड क्षेत्रमा रूपमा जाम गरेर अस्तव्यस्त बनाइएको आरोप पनि लगाए ।
मल्लले बोलेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौला (ज्वाला)ले सञ्चारमाध्यमसहित काठमाडौंका विभिन्न स्थानस्थित नेताका घर र भाटभटेनी सुपरमार्केटको गेटअगाडि शंकास्पद गाडी राख्न राज्यले नै परिचालन गरेको प्रमाण देखाउन चुनौती दिइन्। मल्लको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले एउटा व्यक्तिको क्रियाकलापका विषयमा सिंगो राज्यलाई नमुछ्न आग्रह गरेकी हुन् ।उनले राज्यले सन्दिग्ध व्यक्तिलाई कारबाही गर्छ भनेको भन्दै भ्रमबाट बाहिर निस्कन समेत आग्रह गरिन् ।
प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारले श्रेणीविहिन करार तथा ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई हटाउने निर्णय गरेको भन्दै आपत्ति जनाए ।वर्षौदेखि काम गर्दै आएका उनीहरुलाई सरकारले हटाउने षड्यन्त्र गर्नु सर्वोच्च अदालतको फैसला विरुद्ध पनि हुने हुनाले सरकारले यसमा तत्काल पुनर्विचार गर्नुपर्ने सांसद राईको भनाई छ ।सरकारले गरिव नागरिकलाई निमिटयान्ने पार्ने काम गरिरहेको उनको भनाइ छ ।
यस्तै बैठकमा बोल्ने अन्य सांसदहरुले पनि सरकारको काम कारवाहीलाई लिएर आलोचना गरेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE