औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको भुमिका ‘घरजग्गा एजेन्ट’ जस्तो भएको संसदीय समितिको निष्कर्ष
काठमाडौं । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।
बिहीवारको समितिको बैठकमा बोल्दै सभापति अन्सारीले सरकारी निकायका रूपमा रहेको लिमिटेडले औद्योगिक विकासमा भन्दा घरजग्गा एजेन्ट को भुमिकामा बढी केन्द्रित देखिएको टिप्पणी गरेका हुन् । विभिन्न औद्योगिक क्षेत्रको भ्रमण र अवलोकन गरेको जानकारी दिँदै सभापति अन्सारीले लिमिटेडले देखाएका सिमित सफल उद्योगहरूको मात्र अवलोकन गरिएको बताए । उनकाअनुसार समितिले कोकाकोला, गोल्डस्टार र नेबिको जस्ता स्थापित उद्योगहरूको भ्रमण गरे पनि समग्र औद्योगिक क्षेत्रको अवस्था सन्तोषजनक नरहेको पाइएको छ । औद्योगिक क्षेत्रभित्र उद्योगका सट्टा शोरुम र वर्कशपहरु सञ्चालन भइरहेकोमा समितिले चासो व्यक्त गरेको छ । औद्योगिक प्रयोजनका लागि छुट्याइएको ठाउँमा गैर–औद्योगिक गतिविधि हुनु र त्यस्ता व्यवसायलाई हटाउन लामो समय दिइनु गलत भएको समितिको ठहर छ । सभापति अन्सारीले यस्ता क्षेत्रमा तत्काल नीतिगत हस्तक्षेप गरी औद्योगिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। उद्योगीहरूले जग्गा लिजमा लिनका लागि वर्षौं कुर्नुपर्ने झन्झटिलो प्रशासनिक प्रक्रिया रहेको र व्यवस्थापन पक्षप्रति उद्योगीहरू पूर्ण रूपमा सन्तुष्ट नरहेको अवलोकनका क्रममा भेटिएको उनको भनाइ छ । समितिले औद्योगिक क्षेत्रको समस्या समाधानका लागि अब केवल छलफलमा मात्र सिमित नभई ठोस समाधान दिने गरी अगाडि बढ्ने योजना बनाएको छ । यसका लागि चाँडै एउटा शक्तिशाली उपसमिति गठन गरिने र उक्त उपसमितिले निर्धारित समयभित्र औद्योगिक क्षेत्रको व्यवस्थापन र नीतिगत सुधारका लागि प्रतिवेदन पेश गर्ने निर्णय भएको छ । त्यसैगरी, काठमाडौंभित्रका औद्योगिक क्षेत्रहरूमा प्रदूषण नगर्ने उद्योग र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सुझाव पनि बैठकमा आएको छ । काठमाडौंमा दक्ष जनशक्तिको उपलब्धता सहज हुने भएकाले आईटी पार्कको अवधारणामा काम गर्न सकिने विषयमा समितिले छलफल शुरु गरेको छ ।
सभापति अन्सारीले भने, ‘अर्को मेरो एउटा अवलोकन के छ भने, सरकारले औद्योगिक क्षेत्रहरूको व्यवस्थापनका लागि स्थापना गरेको औद्योगिक विकास लिमिटेडको भुमिका अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन । अहिलेसम्म हेर्दा उहाँहरूको भुमिका औद्योगिक विकासभन्दा पनि जग्गा व्यवस्थापन वा रियल इस्टेट एजेन्टजस्तै भएको महशुस हुन्छ । मैले विभिन्न उद्योगीहरूसँग बुझ्दा पनि औद्योगिक क्षेत्रभित्र लिजमा जग्गा वितरण गर्ने प्रक्रिया धेरै हदसम्म व्यावसायिक ब्रोकरको शैलीमा सञ्चालन भइरहेको गुनासो सुनियो । यो विषयमा विशेष ध्यान दिन आवश्यक छ । हामीले सबैभन्दा पहिले औद्योगिक क्षेत्रमा कस्ता उद्योग स्थापना गर्ने, उपलब्ध पूर्वाधारको उपयोग कसरी गर्ने र त्यसका लागि स्पष्ट मापदण्ड के हुने भन्ने विषयमा ध्यान दिनुपर्छ । उदाहरणका रूपमा, एउटा औद्योगिक क्षेत्रमा निर्माण भइरहेको भवनबारे मैले त्यहाँका तीन जनासँग सोध्दा सबैले यहाँ उद्योग खुल्दैछ भन्नुभयो । तर मलाई पहिलेदेखि नै त्यहाँ एउटा सोरुम खुल्न लागेको जानकारी थियो । त्यसपछि मैले सोरुम र वर्कसपहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उठाएँ । जवाफमा उहाँहरूलाई पाँच वर्षको समय दिएका छौँ, त्यसपछि हट्नुपर्छ भन्ने उत्तर आयो । मेरो विचारमा औद्योगिक क्षेत्र उद्योग सञ्चालनका लागि हो, अन्य व्यावसायिक प्रयोजनका लागि होइन । त्यसैले यस्तो विषयमा स्पष्ट नीतिगत हस्तक्षेप आवश्यक छ । उद्योगका उद्देश्यसँग नमिल्ने गतिविधिलाई पाँच वर्षसम्म निरन्तर सञ्चालन गर्न दिने पक्षमा हामी हुनु हुँदैन । आवश्यक नीतिगत व्यवस्था गरेर औद्योगिक क्षेत्रको मूल उद्देश्यअनुसार यसको प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्छ ।’
समितिले आगामी दिनमा गरिने अनुगमनहरू थप व्यवस्थित र प्रभावकारी बनाउने बताएको छ । अबका अनुगमनहरू जानकारी दिएर मात्र नभई ‘छड्के’ रूपमा समेत गरिने र यसका लागि साना टोलीहरू बनाएर कार्यक्षेत्रमा खटाइने सभापति अन्सारीले जानकारी दिए । आगामी हप्ता पाटन औद्योगिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE