काँग्रेस सबै पुस्तालाई जोड्ने साझा शक्ति बन्नुपर्छः सभापति थापा
काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस सबै जातजाति, भाषाभाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने एउटा सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताएका छन् ।
ललितपुरमा आईतवार आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीमा नयाँ पुस्ताको आगमन र उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताएका हुन्। पार्टीभित्र आफूभन्दा अघिल्ला दुई पुस्ता र पछिल्ला दुई पुस्ता सक्रिय रहेको उल्लेख गर्दै थापाले नेपाली काँग्रेसले विगतमा सबै जातजाति र भाषाभाषीलाई जोड्ने शक्तिको रूपमा काम गरेझैँ अब सबै पुस्तालाई जोड्ने सामथ्र्य पनि राख्नुपर्ने बताए । सका लागि नयाँ पुस्तालाई पार्टीमा स्वागत मात्र गरेर नपुग्ने भन्दै उनीहरूको कुरा सुन्ने र दृष्टिकोण बुझ्ने धैर्यता पनि राख्नुपर्ने बताए । नयाँ पुस्ताको सहभागितालाई ‘टोकन’ वा औपचारिकतामा मात्र सिमित राख्न नहुने उनको तर्क छ । पछिल्लो समय समाजमा बढ्दै गएको पुस्तान्तरणको खाडलप्रति सचेत गराउँदै थापाले ६०–६५ वर्ष नाघेका नागरिकलाई ‘वर्ग शत्रु’ का रूपमा चित्रण गर्ने सोच गलत भएको बताए । यस्ता नकारात्मक चिन्तनबाट समाजलाई मुक्त राख्ने जिम्मेवारी कांग्रेसकै भएको उनको भनाइ छ । विगतको संविधान सभा कालखण्डमा समाज जातीय आधारमा विभाजित हुन लागेको स्मरण गर्दै सभापति थापाले काँग्रेसले नै सबैको पहिचान र सम्मानलाई स्थापित गर्दै मुलुकलाई जोगाएको दाबी गरे ।
सभापति थापाले भने, ‘म भन्दा अघिका दुई पुस्तादेखि लिएर पछिल्ला दुई पुस्तासम्मका साथीहरू नेपाली कांग्रेसमा सक्रिय हुनुहुन्छ । राष्ट्रिय शक्ति भएको नेपाली काँग्रेसले सबै जाति, भाषा, समुदाय र पुस्तालाई जोड्ने साझा शक्ति बन्नुपर्छ । यसका लागि नयाँ पुस्तालाई केवल प्रतीकात्मक रूपमा होइन, अर्थपूर्ण रूपमा पार्टीमा सहभागी गराउनुपर्छ । उनीहरूको विचार, अपेक्षा र दृष्टिकोणलाई सम्मानपूर्वक सुन्नुपर्छ, किनकि बदलिँदो समयसँगै उनीहरूको सोच र राजनीतिक अपेक्षा पनि फरक छन् । आज समाजमा पुस्ताबीचको दूरी बढ्दै गएको देखिन्छ । ६०–६५ वर्षभन्दा माथिका मानिसलाई नै पछाडि पार्नुपर्ने सोच विकसित हुनु स्वस्थ लोकतान्त्रिक संस्कृतिका लागि उचित होइन । नेपाली काँग्रेसले यस्तो विभाजनकारी सोचभन्दा माथि उठेर सबै पुस्ताबीच सहकार्य र विश्वासको वातावरण बनाउनुपर्छ । हामी सबै एउटै पहिचान बोकेका हुँदैनौँ; हाम्रो समाज बहुआयामिक पहिचानले बनेको छ । त्यसैले विभाजन होइन, एकता र समावेशितालाई प्राथमिकता दिनु नै हाम्रो जिम्मेवारी हो ।’
सभापति थापाले अब काँग्रेसले ‘सबै पुस्ता बराबर हुन्’ भन्ने मान्यतालाई पार्टीभित्र र समाजमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE