काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख समस्या रहेको बताएको छ ।
मंगलवार ‘विश्व मानव बेचबिखन विरुद्धको दिवस’ का अवसरमा आयोजित कार्यक्रममा ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नकुल पोखरेलले कार्यपत्र प्रश्तुत गर्दै उक्त जानकारी दिएका हुन् । प्रश्तुत कार्यपत्रअनुसार नेपालमा आन्तरिक रूपमा मनोरञ्जन क्षेत्र (डान्स बार, दोहोरी, मसाज स्पा र होटल) मा हुने यौनजन्य शोषण र श्रम शोषण प्रमुख समस्याका रूपमा रहेका छन् । गत आर्थिक वर्ष २०८२÷८३ मा ब्युरोमा दर्ता भएका २० वटा आन्तरिक बेचबिखनका मुद्दामा २१ जना पीडितमध्ये १९ जना बालबालिका रहेका छन् । पीडितहरूमा विशेष गरी १८ वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्तिहरूको सङ्ख्या बढी देखिएको छ । अन्तर्राष्ट्रिय स्तरमा भारत र चीनमा हुने बेचबिखनको प्रकृति फेरिएको ब्युरोको निष्कर्ष छ । यस्तै पछिल्लो समय दक्षिणपूर्वी एशियाली मुलुकहरू (कम्बोडिया, म्यानमार र लाओस) मा ‘साइबर स्लाभरी’ र ‘फोस्र्ड क्रिमिन्यालिटी’ को जोखिम बढेको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र आधुनिक स्वरूपलाई सम्बोधन गर्न नेपाल प्रहरीले साइबर ब्यूरो अन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको प्रश्ताव अगाडि बढाएको बताए । पछिल्लो समय मानव बेचबिखन परम्परागत स्वरूपबाट रूपान्तरित भई डिजिटल प्लेटफर्ममार्फत हुने ‘साइबर स्लेभरी’ र ‘फोस्र्ड क्रिमिन्यालिटी’का रूपमा देखापरेको उनको भनाइ छ ।संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन अनुसार दक्षिण एशियामा मानव बेचबिखनबाट प्रभावित मुलुकहरूमध्ये नेपाल शिर्ष चारभित्र पर्ने उनले जानकारी दिए।
कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना जगाउनुपर्नेमा जोड दिए । मानव बेचबिखनको स्वरूप बदलिएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना र राजनीतिक सुशासनको आवश्यक रहेको बताएका हुन् ।
आफ्नो सामाजिक उत्तरदायित्वबाट कहिल्यै पछि नहट्ने प्रतिवद्धता जनाउँदै आचार्यले अडियो–भिजुअल माध्यमबाट आगामी दिनमा पनि सचेतनाका कार्यक्रमहरूलाई निरन्तरता दिने बताए ।
