काठमाडाैं । सुनसरीको कप्तानगञ्जमा भएको हत्या प्रकरणलाई लिएर प्रतिनिधि सभामा सरकारको आलोचना भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्ने विपक्षी दलका सांसद देखि स्यमं सत्तारुढ दलका सांसदहरुसम्मले सरकारको कार्यशैलीप्रति आलोचना गरेका हुन् । उनिहरुले सुनसरी प्रकरणमा प्रधानमन्त्री–गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने समेत माग गरेका थिए । एक रिपोर्ट
बिहिबारको प्रतिनिधि सभा बैठका प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यसमा परी युवकको मृत्यु भएको घटनालाई लिएर सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाइन् । प्रहरीको गोली लागि स्थानीय एक युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र घटनाको निष्पक्ष तथा विश्वसनीय छानबिन हुनुपर्ने उनको माग गरिन् । उनले तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले विगतमा प्रधानमन्त्रीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेको प्रसङ्ग उल्लेख गर्दै, आज नागरिकले ज्यान गुमाउँदा सरकारले देखाएको उदासीनताले राज्यप्रतिको भरोसा कमजोर बनाएको टिप्पणी गरिन
नेकपा एमालेकी संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाइन् । साउन १० गते सुनसरीमा भएको हिंसात्मक झडप र मृत्युको घटनाप्रति दुःख व्यक्त गर्दै उनले दङ्गा नियन्त्रण दमनबाट नभइ संवाद र विश्वासबाट गरिनुपर्ने बताइन् । । तर राज्यले संयमता अपनाउनुको सट्टा त्रास सिर्जना गरेर स्थितिलाई थप उत्तेजित बनाउने काम गरेको उनको आरोप छ ।
नेकपाका सांसद गोपाल शर्माले सुनसरी घटनाका सम्बन्धमा प्रधानमन्त्रीले संसदलाई आधिकारिक जानकारी गराउनुपर्ने माग गरे । कप्तानगञ्जमा भएको ओमप्रकाश मेहताको हत्याले मुलुकलाई तरंगित र स्तब्ध बनाएको उल्लेख गर्दै यस्तो संवेदनशील घडीमा प्रधानमन्त्री स्वयं उपस्थित भएर घटनाको वस्तुस्थिति र समग्र अवस्थाबारे सदनलाई स्पष्ट पार्नुपर्ने उनको भनाइ छ। गृहमन्त्रीको कार्यशैली र अभिव्यक्तिको पनि चर्को आलोचना गर्दै उनले गृहमन्त्रीले सार्वजनिक रूपमा ‘कसैलाई यो मन्त्रालय चाहिएको छ भने लैजाऊ’ भनी धम्कीपूर्ण र अराजक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले देशको पछिल्लो सुरक्षा अवस्था र सरकारको कार्यशैलीप्रति आपत्ति जनाए । सरकार नागरिकको सुरक्षा र संसदको गरिमाप्रति बेखबर रहेको उनको आरोप छ ।उनले देशमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न मेचीदेखि महाकालीसम्मका सम्पूर्ण नागरिक तथा संघसंस्थाहरूलाई संयमित हुन अपिल गरे ।
राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले मुलुकमा धार्मिक असहिष्णुता र साम्प्रदायिक तनाव बढ्दै गएको भन्दै सरकारको आलोचना गरिन् । उनले सुनसरीमा भएको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरिन् ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले सरकारको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे । जनआन्दोलनको जग र परिवर्तनको नारासहित गठन भएको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको उनले टिप्पणी गरे । सरकारमा सहभागी दलकै सांसद भएर पनि आफूले परिवर्तनको कुनै ठोस अनुभूति गर्न नसकेको उनको भनाइ छ
यसैबीच सुनसरी घटनाका विषयमा विपक्षी दलका सांसदले सरकार कता छ भन्दै गरेको प्रश्नमा रास्वपाका सांसद यज्ञमणि न्यौपानेले सरकार पीडितलाई मलमपट्टी गरिरहेको जवाफ दिएका छन् । आफूहरू घटना नहोस् भनेर अहोरात्र खटिरहेको बताउदै उनले अरु दलका सांसद कहाँ थिए भन्दै प्रश्न गरे ।
सांसद न्यौपानेले जात, वर्ण, लिंगका आधारमा उचाल्ने वा पछार्ने काम नगर्न आग्रह गरे । राजनीतिक उद्देश्य पूरा गर्न भित्रभित्रै केही गर्न लागेको देखिएको उनको आरोप छ ।
