काठमाडौं । सिल्क ग्रुपले व्यवसाय विविधीकरण रणनीतिअन्तर्गत ‘चाइना बजार’ नामक नयाँ ई–कमर्स प्लेटफर्म औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले एक विशेष कार्यक्रमको आयोजना गरी चाइना बजार ई–कमर्स प्लेटफर्म सञ्चालनमा ल्याएको जानकारी दिएको हो । चाईना बजारले प्रारम्भिक चरणमा व्यवसायदेखि–ग्राहक (बिटुसी) मोडलमार्फत सेवा शुरु गरेको सिल्क ग्रुपको अध्यक्ष रमेश शेर्पाले जानकारी दिए । उनले ‘चाइना बजार’सँगै कम्पनीले पहिलो अफलाइन रिटेल स्टोर पनि सञ्चालनमा ल्याएको बताए । उनकाअनुसार ग्वार्कोस्थित टुलिप होटल परिसरभित्र सञ्चालनमा आएको उक्त स्टोरमा ग्राहकले सामान प्रत्यक्ष अवलोकन र अनुभव गर्न सक्नेछन् । कम्पनीले एक वर्षभित्र वीरगन्ज र भैरहवामा थप दुई वटा ‘एक्स्पेरियन्स स्टोर’ विस्तार गर्ने योजना बनाएको अध्यक्ष शेर्पाले जानकारी दिए । ‘चाइना बजार’ले नेपाली उपभोक्ताको दैनिक किनमेल गर्ने शैलीमा परिवर्तन ल्याउने उनको भनाई छ ।
चाइनाबजारमार्फत नेपाली उपभोक्ताले गुणस्तरीय सामान सरल, सही र पारदर्शी मूल्यमा खरिद गर्न पाउनेछन् । उद्योगदेखि उपभोक्ताको दैलोसम्म पुग्दा बीचमा पर्ने अतिरिक्त शुल्कको भार अब ग्राहकहरुलाई नपर्ने कम्पनीले जनाएको छ । चाइनाबजारले आफै चीनका उत्पादनकर्ताबाट सामान खरिद गर्ने र कम्पनीकै गोदाममा भण्डारण गरि ग्राहकसम्म डेलिभरी गर्ने काम पनि आफैले गर्ने जनाएको छ । ‘इन्जोय योर सपिङ’ भन्ने नारासाथ सुरुमा चाइनाबजारमा इलेक्ट्रोनिक्स, फेसन, लाइफस्टाइलका सामान एवं स्वास्थ्य तथा सौन्दर्य सामग्री उपलब्ध हुनेछन् । कम्पनीकाअनुसार ग्राहकले ईसेवा र खल्तीबाट भुक्तानी गर्न सक्नेछन् ।
