काठमाडौं । पिाकिस्तानको ब्रोड पिकमा हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूमध्ये ६ जना नेपाली पर्वतारोही अझै सम्पर्कविहीन रहेको नेपाल सरकारले जनाएको छ ।
केही शव फेला परेको भन्ने खबरहरू सार्वजनिक भए पनि पर्यटन विभागले हालसम्म कुनै पनि आरोहीको मृत्युको आधिकारिक पुष्टि गरेको छैन । विभागले आरोहण टोलीमा रहेका ६ जना नेपालीलाई अझै ‘बेपत्ता’ सूचीमै राखेको छ । यसैबीच, पर्यटन विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै उद्धार तथा खोजी कार्यमा पाकिस्तान सरकारसँग आवश्यक समन्वय गर्न इस्लामाबादस्थित नेपाली दूतावासलाई निर्देशन दिइएको जनाएको बीबीसीले बताएको छ ।
यसअघि अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्शद खानले इन्स्टाग्राममा पोस्ट गर्दै जमिनमा खटिएका उद्धार टोलीले चारवटासम्म शव फेला पारेको बताएका थिए । पाकिस्तानमा बिहान ९ बजेदेखि उद्धारकर्मी तथा थप विशेष उपकरण बोकेका सेनाका दुईवटा हेलिकोप्टर खोज तथा उद्धार अभियानलाई सघाउन परिचालन गरिएको अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ ।क्लबका अनुसार कठिन उच्च हिमाली वातावरणमा फसेका आरोहीहरूको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हेलिकोप्टरहरूले जमिनमा सञ्चालन भइरहेको अभियानलाई थप सहयोग गरिरहेका छन् ।क्लबले बेपत्ता आरोहीहरूको सकुशल उद्धार हुने आशा व्यक्त गर्दै घटनाबारे थप विवरण उपलब्ध गराइने जनाएको छ ।