काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबीच समझदारी भएको छ ।
जनकपुरधामस्थित एक होटलमा हिन्दू सम्राट सेनासँग करिब डेढ घण्टाको वार्तामा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकारी प्रतिनिधि बसेका थिए । यसअघि पेश गरिएका १३ बुँदे मागमा थप केही विषय समेटेर कुल १९ बुँदे प्रस्ताव सरकारसमक्ष बुझाइएको हिन्दू सम्राट सेना नेपालले जनाएको छ । ती मागलाई सरकारले सकारात्मक रूपमा लिएको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी बनेको जनाइएको छ । आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने, उनीहरूमाथि कुनै मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीको छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्ने विषयमा पनि समझदारी भएको छ ।
त्यस्तै सरकारी पक्षबाट माग पूरा हुने आश्वस्त भएपछि सबै प्रकारका आन्दोलन र विरोधका कार्यक्रमहरू सेनाले फिर्ता लिएको छ । त्यस्तै शनिबार जिल्ला प्रशासन कार्यालयका सभा हलमा सरकारले प्राप्त गरेको १३ बुँदे र आज बुझेको ६ बुँदे मागपत्र गृहमन्त्री गुरुङले सरकारको तर्फबाट ग्रहण गरेको जनाइएको छ ।