काठमाडौं । गत वैशाख १ गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपद्का घटनामा परेर १९६ जनाको ज्यान गएको छ ।
यी घटनामा परेर ४ जना अझै बेपत्ता छन् । यस अवधिमा ४ हजार ५३ वटा विपद्का घटना दर्ता भएका छन् जसबाट ५ हजार १८८ परिवार प्रभावित भएका छन् भने १ हजार २१८ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । वैशाखपछिको समय सर्पदंश विपद्को मुख्य घातक कारण बनेको छ ।
सर्पदंशका ७१६ वटा घटनामा ५४ जनाको ज्यान गएको छ भने ६६८ जना घाइते भएका छन् । यस्तै चट्याङबाट २५, लेक लागेर २२, पहिरो र आगलागीबाट २०–२० जना, जनावरको आक्रमणबाट १८, बाढीबाट १४ तथा हावाहुरीबाट १३ जनाको ज्यान गएको छ । अत्यधिक वर्षा, ढुङ्गा पल्टिएर, वन डढेलो, हिउँ पहिरो र विस्फोटलगायतका घटनाबाट ९ जनाले ज्यान गुमाएका छन् ।