३० आश्विन २०८३, शुक्रबार

डिजिटल हिंसा नियन्त्रण गर्न कानूनी सुधार अपरिहार्यः मन्त्री वादी

0
Shares


काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले डिजिटल हिंसा नियन्त्रण गर्न कानूनी सुधार अपरिहार्य रहेको बताएकी छन् ।

सोमवार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साईवर सुरक्षासम्बन्धी छलफलमा उनले यस्तो बताएकीह हुन् । पछिल्लो समय डिजिटल प्रविधिको तिब्र विस्तारसँगै साइबर अपराध र डिजिटल हिंसा सामाजिक तथा मानवअधिकारको चुनौतीका रूपमा उभिएको उनको भनाइ छ । यसको नियन्त्रणका लागि कानूनी, संस्थागत र प्राविधिक सुधारलाई तिब्र बनाउनुपर्नेमा उनको जोड छ । कानुन मन्त्रालयले नयाँ प्रविधिसँग सम्बन्धित पराधलाई समेट्ने कानुनी सुधार शीघ्र अघि बढाउनुपर्ने तथा सञ्चार मन्त्रालयले डिजिटल प्लेटफर्मसँग समन्वय गरी गैरकानूनी सामग्री हटाउने र पीडितको गोपनीयता संरक्षण गर्ने संयन्त्र विकास गर्नुपर्ने उनको भनाइ छ ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले आवश्यक जनशक्ति, प्रविधि तथा स्रोत–साधन अभाव हुँदा साइबर अपराधको अनुसन्धान र नियन्त्रण प्रभावकारी हुन नसकेको बताए । बढ्दो सामाजिक सञ्जाल प्रयोगसँगै साइबर अपराध तिब्र रूपमा बढिरहेको बताउदै उनले अनुसन्धान गर्ने निकायसँग पर्याप्त जनशक्ति र आधुनिक प्रविधि नहुँदा नागरिकले समयमै गुणस्तरीय सेवा पाउन नसकेको स्वीकार गरे । साइबर अपराधका उजुरीको अनुसन्धान प्राविधिक प्रक्रिया र कानूनी नियमनका कारण अपेक्षाभन्दा लामो समय लाग्ने उनको भनाई छ ।

समितिको बैठकमा बोल्ने अधिकांस सांसदहरुले डिजिटल हिंसा तिब्र रूपमा बढिरहेको बताउदै यसलाई रोकथाम गर्नुपर्नेमा जोड दिएका थिए ।