काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्न सर्कुलर पठाएको छ।
आयोगका प्रमुख भुवन केसीले बाँकी रहेका अधिवेशन टुङ्ग्याउन पार्टीपंक्तिमा तीन बुँदे निर्देशन दिएका हुन्।
निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता र निष्पक्षता कायम गर्ने उद्देश्यले रास्वपाले अधिवेशन सक्न भनेको सर्कुलरमा उल्लेख छ।
पहिलो बुँदामा भनिएको छ, ‘हालसम्म सम्पन्न हुन बाँकी रहेका सबै जिल्ला तथा प्रदेश अधिवेशनहरू पार्टीको प्रथम महाधिवेशन चक्रकै बाँकी प्रक्रिया हुन्। अतः ती अधिवेशनहरूमा प्रथम महाधिवेशन चक्रका लागि लागू भएका पार्टीको विधान, निर्वाचन कार्यविधि तथा केन्द्रीय निर्वाचन आयोगबाट जारी भएका निर्णय, निर्देशन तथा व्याख्या समान रूपमा लागू हुनेछन्।’
दोस्रो बुँदामा प्रथम महाधिवेशन चक्रमा कुनै सदस्यले अर्को तहबाट प्रतिनिधि वा कुनै पदमा उम्मेदवारी दर्ता गरेसँगै सोही महाधिवेशन चक्रका लागि बहाल रहेको प्रतिनिधिको हैसियत स्वतः समाप्त भएको मानिने उल्लेख छ। यसका लागि छुट्टै राजीनामा वा स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरेको छ।
तेस्रो बुँदामा महाधिवेशन चक्रमा प्रत्येक सदस्यले एक तहको प्रतिनिधित्व मात्रै गर्न पाउने र एकै महाधिवेशन चक्रमा कुनै सदस्यको एकभन्दा बढी तहमा प्रतिनिधित्व कायम नरहने उल्लेख छ।
पार्टीका उक्त निर्देशन सबै सदस्य, प्रतिनिधि, उम्मेदवार, पदाधिकारी, अधिवेशन आयोजक समिति, निर्वाचन समिति तथा निर्वाचन प्रक्रियामा संलग्न सबै निकायले पूर्ण कार्यान्वयन गर्न भनेको छ।