३० आश्विन २०८३, शुक्रबार

पोखरामा एलपी ग्यासको आपूर्तिमा समस्या,सिलिण्डर बोकेर लाइनमा सर्वसाधारण

0
Shares


काठमाडौं । देशभर एलपी ग्यासको अभाव देखिएसँगै सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

पोखरा क्षेत्रमा पनि ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर डिपोहरूमा लामो लाइन बस्न बाध्य भएका छन् । बजारमा देखिएको यो असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुगमनलाई तिब्र पारेको छ । यसैक्रममा, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा पोखरास्थित प्रमुख ग्यास विक्रेता ‘चेरिस्मा इम्पोरियम’ मा छड्के अनुगमन गरिएको छ । अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी बरालले बाहिरका कम्पनीहरूले मागअनुसारको ग्यास नपठाउँदा केही समय आपूर्तिमा समस्या देखिएको स्वीकार गरे । बरालले बजारमा ग्यासको अभाव नहुने भन्दै उपभोक्तालाई त्रसित नहुन र आवश्यकताभन्दा बढी सञ्चय नगर्न आग्रह गरे ।

यता, ग्यास व्यवसायीहरूले भने उपभोक्ताको अत्यधिक भण्डारणका कारण बजारमा अभाव चुलिएको बताएका छन् । चेरिस्मा इम्पोरियमकी सञ्चालक सीता बरालकाअनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको युद्धको हल्ला र अभाव हुने डरले गर्दा उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गरेका छन् । उनले व्यवसायीहरूमा भन्दा पनि उपभोक्ताकै तहमा धेरै ग्यास सञ्चित रहेको दाबी गरे ।

जिल्ला प्रशासन कार्यालयले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्नेमाथि कडा निगरानी राखिने जनाएको छ । आपूर्ति व्यवस्थालाई नियमित बनाउन प्रशासनले व्यवसायी र ग्यास विक्रेता संघसँग निरन्तर समन्वय गरिरहेको छ ।