३० आश्विन २०८३, शुक्रबार

सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग सांसदहरूकाे माग

0
Shares


काठमाडौं । सांसदहरुले सुनसरी लगाएतका घटनाको निष्पक्ष छानबिन गरि प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सम्पूर्ण राजनीतिक दलका सांसदहरुले घटनाका दोषिलाई कारवाही गर्न माग गरेका हुन् । उनिहरुले आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै कांग्रेसका सचेतक निश्कल राईले सुनसरी घटनाको निष्पक्ष अनुसन्धान गरी घटनाको कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका र राज्यको प्रक्रिया सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।सामाजिक सञ्जाल मार्फत घृणा र झुटा सूचना फैलाउने माथि कानुन अनुसार कारबाही गर्न माग गर्दै उनले कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको घेरामा नराख्न आग्रह समेत गरे ।सरकारले गरेका सहमति, संवैधानिक आधार, कार्यान्वयन प्रक्रिया र समयसीमाबारे संसद तथा नागरिकलाई स्पष्ट जानकारी दिन उनले माग गरे ।

एमाले सांसद गुरु बरालले सुनसरी घटनाको छानबिन गर्नको लागि न्यायिक समितिको माग गरे । पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्न उनको माग छ । उनले ४ जनाको हत्याको जिम्मा नैतिक रूपमा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले तराई मधेशको घटनामा गृहमन्त्रीले सम्झौता गरेको हिन्दू सम्राट सेनाको भूमिकामाथि प्रश्न उठाए । नेपालमा एउटा मात्रै सेना रहेको उनको भनाइ छ । उनले सेना नामका यस्ता समूहलाई निधेष गर्न माग गरे। उनले आफूहरू जनकपुर जाँदा अवरोध भएको विषय पनि उठाए ।

राप्रपाले सुनसरी र मधेशमा देखिएको साम्प्रदायिक तनावका सन्दर्भमा धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको आवश्यकता औंल्याएको छ।राप्रपाका सांसद ताहिर अली भाटले आफू मुस्लिमको छोरो भएर पनि हिन्दू राष्ट्र र सर्वधर्म सद्भावको पक्षमा रहेको बताए ।सुनसरी घटनामा परी ज्यान गुमाउनेको संख्या चार पुगेको उल्लेख गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरे।

रास्वपा सांसद अमरेशकुमार सिंहले मधशेमा कुनै घटना घट्नासाथ किन गोली चलाउने गरेको भन्दै राज्यसँग प्रश्न गरे । राज्यले प्रहरीलाई बन्दुकको गोलीमा भन्दा पनि लाठि र अश्रुग्याँसमा लगानी किन नगरेको ? भन्दै उनले प्रश्न गरेका हुन् ।साथै, उनले मधेशलाई पछि पार्ने, गरिब बनाउने र गोली चलाइहाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

नेकपा सांसद बलावती शर्माले राष्ट्रियता, सीमा सुरक्षा र जनजीविकाका सवालमा सरकार र प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गरिन् । प्रधानमन्त्री सामाजिक सञ्जालमा मात्र सीमित भएको र देशका जल्दाबल्दा समस्या समाधानमा उदासीन रहेको उनको आरोप छ । नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपाली भूमिमा प्रवेश गरी नेपालीहरूले बनाएको माटोको अस्थायी बाँध भत्काएको घटनाप्रति उहाँले सरकारको ध्यानाकर्षण गराइन् ।

यस्तै बैठकमा बोल्ने अन्य सांसदहरुले पनि पुनः यस्ता घटना दोहरिन नदिन सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।