३० आश्विन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको असन्तुष्टि, सुरक्षाकर्मीको व्यवहारमा सुधार गर्न माग

0
Shares


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सरकारले नीतिगत र प्रक्रियागत परिवर्तन शुरु गरेको जानकारी दिएका छन् ।

बिहीवार सिंहदरबारमा आयोजित अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले बजेट खर्चको पुरानो प्रवृत्तिलाई तोड्दै ८० देखि १०० प्रतिशतसम्म पुँजीगत खर्च गर्ने वातावरण निर्माण गर्न सरकार सचेत रहेको बताएका हुन् । उनले यस वर्ष पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसक्नुमा विगतका केही नीतिगत निर्णय र निर्माण व्यवसायीका लागि प्रतिकूल समय मुख्य कारण रहेको उल्लेख गरे । विगतमा १ सय १८ अर्ब बराबरका ठेक्काहरू स्थगित हुनु र प्रक्रियागत ढिलाइले पुँजीगत खर्च ५० प्रतिशतको हाराहारीमा खुम्चिएको उनको विश्लेषण छ ।

बैठकमा सांसद नीतिमा भण्डारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्थित पूर्वाधार, सेवा शुल्क र सुरक्षाकर्मीको व्यवहारप्रति आपत्ति जनाइन् । उनले अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त कुर्न जाने सर्वसाधारणबाट शुल्क लिने परिपाटीको आलोचना गरिन् । विकसित मुलुकहरूमा शुल्क तिरेर सुविधासम्पन्न लाउन्जमा बस्ने विकल्प हुने भएपनि नेपालमा न्युनतम पूर्वाधार समेत नभई शुल्क मात्र असुलिएको उनको तर्क छ ।

सांसद जगदीश खरेलले पनि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र सेवा शुल्कमा भइरहेको मनोमानीप्रति आपत्ति जनाइन् । सांसद खरेलले विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको प्रतिवेदनलाई बेवास्ता गरिएको र नागरिकमाथि आर्थिक भार थपिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । विमानस्थलमा पार्किङ र प्रतीक्षालयमा भइरहेको शुल्क असुलीप्रति पनि उनले आलोचना गरे ।

छलफलका क्रममा सांसद प्रा.डा. पुष्पराज कँडेलले दुर्गम क्षेत्रमा व्यावसायिक लगानी भित्र्याउन पुँजीको सुरक्षा र नाफाको सुनिश्चितता हुनुपर्ने बताए ।।