३० आश्विन २०८३, शुक्रबार

सामाजिक सञ्जालको दुरुपयोग र वित्तीय अपराध मुख्य चुनौतीः प्रहरी प्रवक्ता

0
Shares


काठमाडौं । नेपाल प्रहरीले वर्तमान समयमा सामाजिक सञ्जालको दुरुपयोग र बढ्दो वित्तीय अपराधलाई शान्ति सुरक्षाको मुख्य चुनौतीका रूपमा पहिचान गरेको छ ।

प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता अविनारायण काफ्लेले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सामाजिक सञ्जालमार्फत प्रवाह हुने गलत सूचना (मिसइन्फरमेसन) र भ्रामक सूचना का कारण साम्प्रदायिक, जातीय र धार्मिक सद्भाव खलबलिने जोखिम बढेको बताए । यसैगरी, पछिल्लो समय वित्तीय अपराध र साइबर अपराधका घटनाहरू पनि उच्च रूपमा वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । विशेष १० प्रकारका प्रमुख अपराधहरूको विश्लेषण गर्दा साइबरसँग सम्बन्धित ’स्क्यामिङ’ का घटनाहरू बढी देखिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।

प्रवक्ता काफ्लेले नेपाल प्रहरीले सूचना प्रविधि, मानव स्रोत व्यवस्थापन र भौतिक पूर्वाधारका क्षेत्रमा व्यापक सुधार गर्दै सङ्गठनलाई आधुनिक एवं प्रविधिमैत्री बनाउने योजना अघि सारेको बताए । प्रहरीले साइबर अपराध र स्क्यामिङका घटनालाई न्यूनीकरण गर्न ‘एन्टी साइबर स्क्याम सेन्टर’स्थापना गर्ने प्रश्ताव अघि बढाएको छ । साइबर ब्युरोमा रहने यस केन्द्रमा नेपाल प्रहरीसहित नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिहरू सम्पर्क व्यक्तिका रूपमा रहनेछन् । बढ्दो साइबर अपराधलाई दृष्टिगत गरी प्रहरी महानिरीक्षकले यस परियोजनालाई उच्च प्राथमिकतामा राख्नुभएको डीआईजी काफ्लेले बताए ।