काठमाडौं । कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ ।
भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा संकटकालको घोषणा गरेको छ ।
कोलम्बियाको भौगर्भिक सेवाका अनुसार छोको प्रान्तलाई केन्द्रविन्दु बनाएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । १०३ किलोमिटर गहिराइमा गएको उक्त भूकम्पको धक्का देशको पश्चिमी भूभागका सयौँ माइलसम्म महसुस गरिएको थियो । भूकम्पका कारण भत्किएका भवनमा धेरै मानिस फसिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनामा परी ४८० भन्दा बढी मानिस घाइते भएको एसोसिएसन अफ क्यापिटल सिटीजले जनाएको छ ।
सबैभन्दा बढी क्षति ‘कफी क्षेत्र’ मा पर्ने पेरेइरा शहर र आसपासका इलाकाहरूमा भएको छ । केन्द्रविन्दु नजिकै रहेको सान जोसे डेल पाल्मारमा भने बाटोघाटोमा क्षति पुगे पनि मानवीय क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ । हाल प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ ।