काठमाडौं ।संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसदहरुले मुलुकमा व्याप्त विभिन्न समस्याहरूप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । खाना पकाउने ग्यासको चरम अभाव, शान्ति सुरक्षाको फितलो अवस्था र सरकारको कार्यशैलीलाई लिएर सांसदहरूले कडा आलोचना गरेका हुन् ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसद कमला पन्तले बजारमा ग्यासको हाहाकार हुँदा पनि सरकारले आपूर्ति सहज छ भन्नु लज्जास्पद रहेको बताएकी छन् । उनले जनताको घरमा चुलो बल्न छाडेको उल्लेख गर्दै यसबारे संसदमा सरकारको तर्फबाट रुलिङको माग गरिन् । त्यसैगरी, माननीय सदस्य मदनकुमारी शाहले डेलिभरीको नारा दिने सरकारले जनतालाई ग्यासका लागि घण्टौँ लाइनमा बस्न बाध्य बनाएको भन्दै आक्रोश व्यक्त गरिन् ।
सांसदहरू तुलप्रसाद विश्वकर्मा र नरबहादुर विष्टले माईतीघर मण्डलामा ११६ दिनदेखि धर्नारत दिपा नेपालीको मागप्रति सरकार उदासीन रहेको बताए । उनीहरूले जनताले ग्यास नपाएर सास्ती भोगिरहेको र सरकारले समस्या समाधानमा ध्यान नदिएको आरोप लगाए ।नेपाली काँग्रेसका मुख्य सचेतक पदमबहादुर परियारले वर्तमान सरकारले दलित समुदायको अधिकार प्रवर्धनका सवालमा ६० लाख दलित जनसङ्ख्यालाई झुक्याउने र ‘इमोसनल ब्ल्याकमेल’ गर्ने रणनीति लिएको आरोप लगाए। सरकारले दलित समुदायका व्यक्तिलाई मन्त्रिमण्डलमा सहभागी गराएर समावेशिताको प्रशंसा बटुले पनि व्यवहारमा भने दलित अधिकार सम्बन्धी कानून निर्माणलाई उपेक्षा गरेको उनको भनाइ छ ।
यस्तै, सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति सांसद नारायणदत्त मिश्रले आपत्ति जनाए । दुई समुदायबीच तनाव बढ्दा सुरक्षा संयन्त्र समयमै परिचालन हुन नसकेको टिप्पणी गर्दै उनले घटनाको निष्पक्ष न्यायिक छानबिन र दोषीलाई कारबाहीको माग गरे । सिराहाको गोलबजारमा भएको आगजनी र भौतिक क्षतिका सम्बन्धमा बोल्दै माननीय सदस्य मोहम्मद खालिदले पीडितलाई क्षतिपूर्ति दिन र सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरे ।
सांसद भूवनबहादुर सुनारले सरकारको सय बुँदे कार्ययोजनाको आलोचना गर्दै सुकुम्बासी बस्तीमा डोजर आतंक, रासायनिक मलको अभाव र महँगी नियन्त्रणमा सरकार असफल भएको दाबी गरे । यसैगरी सांसद युवराज शर्माले राष्ट्रिय ट्रमा सेन्टरमा महँगा स्वास्थ्य उपकरण बिग्रनु, विद्युतमा भ्याट लगाइनु र कृत्रिम अभाव सिर्जना हुनुले जनतामा निराशा छाएको बताए ।
सांसद सम्झना देवकोटाले नागरिकको स्वास्थ्योपचार र सामाजिक सुरक्षाको दायित्व पूरा गर्न सरकार असफल भएको आरोप लगाइन् । उनले काभ्रेको मण्डनदेउपुरका एक वृद्ध दम्पतीले गरेको आत्महत्याको घटनालाई लिएर सरकारको आलोचना गरेकी हुन् ।
सांसद सुरेशकुमार आलेमगरले प्रधानमन्त्री बालेन्द्र साह लक्षित गर्दै तिब्र गतिमा गुड्ने ‘एक्सप्रेस’ सवारी साधन र त्यसको चालकको कार्यशैलीलाई लिएर सांकेतिक टिप्पणी गरे । सवारीको गति र चालकको सन्तुलन नमिल्दा गम्भीर दुर्घटना निम्तिन सक्ने उनको चेतावनी छ । चालक दक्ष र सचेत भए मात्र गन्तव्य सुरक्षित हुने बताउँदै यदि चालकले मादक पदार्थ वा लागुपदार्थ (गाँजा, भाङ, धतुरो) सेवन गरेर सवारी चलाएमा दुर्घटना निश्चित रहेको उनको भनाइ छ ।
अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिए । उनले ग्यासको सहज आपूर्ति तथा विक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा बोल्ने अधिकांस सांसदहरुले सरकारले नागरिकलाई दुख दिने मात्र काम गरेको भन्दै जन सरोकारका मुद्धामा बिशेष ध्यान दिनुपर्ने बताएका थिए ।।
